काठमाडौ, ३ चैत । नेकपा एमालेले देशका सुरक्षा अङ्गहरुको मनोबल गिराउन नहुने अडान राखेको छ ।
प्रधानमन्त्री शुशीला कार्कीसगको मङ्गलवारको भेटमा एमालेले त्यस्तो अडान राखेको नेता महेश बर्तौलाले बताए ।
जेनजी आयोगले तत्कालीन प्रहरी महानिरिक्षक, राष्ट्रिय अनुसन्धान विभाग प्रमुखसहित काठमाडौंसग सम्बन्धीत सबै सुरक्षा प्रमुख र २३ र २४ भदौमा गोली चलाउने काममा सङ्लग्न सबैलाई कारवाही सिफारिस गरेको चर्चा चलिरहेको बेला एमालेले त्यस्तो अडान राखेको हो ।
“कानुन बमोजिम परिचालित सुरक्षा निकायलाई कारवाही गरेर मनोबल गिराउदै जाने हो भने मनोबल गिरेर सुरक्षा अङ्गहरुले अबको दिनमा कसरी काम गर्न सक्छन ? त्यसैले कारवाहीको प्रसङ्ग छ भने हाम्रो असहमती हुन्छ भन्ने कुरा प्रष्टसग ध्यानाकर्षण गरायौं” बर्तौलाले भने ।
जवाफमा आयोगको प्रतिवेदन सार्बजनिक गर्न तीब्र दबाब आएको भन्दै प्रधानमन्त्री कार्कीले अध्ययन टोली गठन गरेको जानकारी गराएकी थिइन ।
सुरक्षाकर्मीमाथी आयोगले कार्वाही सिफारिश गरेको विषयमा एमालेले असहमतिसहित राखेको अडानमा भने कार्कीले कुरा मात्रै सुनेर मौनता दर्शाएकी थिइन ।
प्रधानमन्त्रीको बोलावटमा एमालेका नेताहरु ईश्वर पोखरेल, प्रदिप ज्ञवाली र बर्तौला बालुटार पुगेका थिए । त्यसक्रममा प्रधानमन्त्रीले निर्वाचन सम्पन्न गराउन सहयोग पुर्याएकोमा धन्यवाद दिन बोलाएको बताएकी थिइन ।
