काठमाडौं, ४ चैत । अकल्पनीय पराजयमा कसैको सहानुभुती पनि आशा र सकारात्मक सोचमा बदलिन्छ भन्ने उदाहरण एमाले महासचिव शङ्कर पोखरेलले देखाएका छन ।
प्रसङ्ग हो, महासचिव पोखरेलको सामजिक संजालको पछिल्लो स्टाटस ।
जहाँ उनले निर्वाचनलाई शिक्षाका रुपमा लिएर भारतीय जनता पार्टी जस्तै पुनर्जागृत भएर एमाले पनि अबको दिनमा सत्ता राजनीतिमा कम ब्याक हुनसक्ने सम्भावना औल्याएका छन ।
एमाले नेताहरु इश्वर पोखरेल,प्रदिप ज्ञवाली र महेश बर्तौलालाई मङ्गलवार बोलाएर प्रधानमन्त्री शुशीला कार्कीले भारतमा चुनावी पराजयबाट भाजपा कसरी उठ्यो भन्ने उदाहरणसहित एमालेको अकल्पनीय हारप्रती सहानुभुती देखाएकी थिइन ।
एमाले जत्तिको पार्टी फेरि कमब्याक हुने सहानुभूतिसहितको प्रधानमन्त्री कार्कीको सद्भावले एमाले नेताहरु उज्यालो अनुहार पारेर प्रधानमन्त्री कार्यालयबाट फर्किएका थिए । उनीहरुले प्रधानमन्त्रीले राखेको सहानुभुतिबारे महासचिव पोखरेललाई रिपोर्टिङ गरेका थिए ।
प्रधानमन्त्री कार्कीको पछिल्लो सहानुभुतिसहितको सन्देशलाई उर्जाको रुपमा लिदै एमाले महासचिव पोखरेलले ठीक एक दिनपछी नेता-कार्यकर्तालाई उज्यालो संभावना देखाउनेगरी स्टाटस लेखेका छन ।
यस्तो छ पोखरेलको संदेश :
चुनावको नतिजा र शिक्षा
सन १९८४ को भारतीय आम चुनावमा आजको नेपालको चुनावमा देखिएको “बालेन लहर” जस्तै “राजीव लहर” देखिएको थियो। त्यस समयमा भारतीय लोकसभामा कांग्रेस (आई) ले दुई तिहाइभन्दा बढी सिटमा ऐतिहासिक विजय हासिल गरेको थियो। वर्तमान सत्तारूढ दल भाजपा भने उक्त चुनावमा केवल २ सिटमा सीमित भएको थियो।
तर, त्यस्तो विशाल सफलता प्राप्त गरेपछि पनि कांग्रेस (आई) क्रमशः कमजोर बन्दै गयो, जबकि भाजपा विस्तारै सशक्त बन्दै अघि बढ्यो। यही प्रक्रियाको परिणामस्वरूप आज भाजपा नरेन्द्र मोदी को नेतृत्वमा लगातार तेस्रो कार्यकालका लागि भारतको केन्द्रीय शासनमा स्थापित भएको छ।
यस घटनाक्रमले एउटा महत्वपूर्ण शिक्षा दिन्छ—चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन। जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण, र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार हुन्।
जित्ने र हार्ने दुबैका लागि यी शिक्षाका विषय हुन् ।
