काठमाडौं, ५ चैत ।
सुशासनको नारा लगाउन नयाँदेखि पुराना दलहरु सबै एकै ठाउँमा उभिन्छन् । पुरानाले केही गरेनन नयाँले कायापलट गर्ने हो भनेर नारा दिएका दलको सुशासन शुरुकै दिनदेखि हेर्न लायक बन्ने अवस्था सिर्जना हुँदैछ । भ्रष्टचार विरुद्ध अभियान चलाउने र मुलुकमा सुशासन कायम गर्ने मूल नारा लिएर जनताको दुई तिहाइ मत ल्याएको रास्वपाले बैकिङ ठगी कसुरमा मुद्धा चलिरहेका व्यक्तिले सञ्चालन गरेको होटलमा दुई दिने प्रवचन दिइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठूलो धनराशी खर्चिएर सांसदहरूलाई तालिम दिएको विषय चर्चामा आइरहँदा त्यहाँ खर्च गर्ने रकम कहाँबाट जुट्यो भन्ने अर्को प्रश्न पनि सँगै जन्मिएको छ ।
प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल १८२ सिट जितेको रास्वपाले ललितपुरको ग्वार्कोस्थित पाँचतारे होटलमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्यो । मंगलबार र बुधबार भएको कार्यक्रममा रास्वपाका सभापति रवि लामिछाने समापन समारोहमा सुशासनको ठूलो प्रवचन दिए, देश बनाउनबाट आफूहरुलाई छुट नभएको पनि बताए । दुई दिने आवासीय तालिममा खानपिन, मुकाम, योग, ध्यान र साधनासहित प्रशिक्षणका लागि झण्डै ५० लाख रुपैयाँ खर्च भएको र होटलमा मात्रै करिब ३० लाख बढी खर्च भएको स्रोतको दावी छ । यद्यपि त्यो पैसा कसले तिर्यो भन्ने विषयमा कही बाहिर ल्याइएको छैन । पारदर्शिताको नाममा मागिएको मत त्यही उल्लंघन भएको छ ।
ठूलो क्षमताको पाँचतारे होटलका रुपमा चर्चा गरिएको यो होटल महँगोमध्येको एक मानिन्छ । राजेन्द्र शाक्य नेतृत्वको गुण समूहले झण्डै ६ अर्ब लगानी गरेर निर्माण गरेको होटल गत असारदेखि सञ्चालनमा आएको हो । होटलको औपचारिक उद्घाटन नहुन्दै रास्वपाले आफ्ना सांसदहरुलाई त्यहाँ लगेर प्रवचन दियो । ३०८ कोठा रहेको होटलमा अहिले २०० हारहारी सञ्चालनमा छन् । त्यसमध्ये १२० वटा कोठा रास्वपाले दुई दिन एकरातका लागि ‘बुक’ गरेको थियो । उक्त होटलमा एउटा कोठाको मूल्य न्यूनतम १३ हजार रहेको छ । यस हिसाबले हेर्दा रास्वपाले आवासको लागि मात्रै १५ लाख ६० हजार खर्च गरेको देखिन्छ । त्यसबाहेक भोजनको छुट्टै शुल्क छँदैछ । सुशासन र राजनीतिक पारदर्शिताको चर्को कुरा गर्ने पार्टीले महंगो रकम खर्चेर पाँचतारे होटलमा कार्यक्रम गरेको भन्दै कतिपयले आलोचना गरिरहेका छन् ।
स्मरण रहोस्, उक्त होटलका मालिक शाक्य विवादित व्यवसायी हुन् । गत मंसिर दोस्रो साता उनी बैंकिङ कसूरमा पक्राउ परेका थिए । प्रभु बैंकबाट विभिन्न कम्पनीको नाममा कर्जा लिएर दुरुपयोग गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीं)ले नियन्त्रणमा लिएको हो । होटल सञ्चालक राजेन्द्र शाक्य शाक्यविरुद्धको मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन छ ।
किन पक्राउ परेका थिए शाक्य ?
प्रभु बैंक घोटला प्रकरणमा उनी पक्राउ परेका थिए । बैकले त्यो रकम शाक्यले सञ्चालन गरेको गुण समूहअन्तर्गतको गुण सिनेमालाई दिएको थियो । त्यो पैसा पछि शाक्यले लाजिम्पाट अपार्टमेन्ट खरिद र अर्को कम्पनीमा लगेको आरोपमा उनीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अनुसन्धान गरेको थियो । बैंकको २७ करोड रुपैयाँ लिएर आफ्नो ऋण व्यवस्थापन गरेको समेत पाइएको अनुसन्धान अधिकृतहरु दावी छ । ‘लेयरिङ गरिएको कम्पनीमध्ये एउटा अस्तित्वमै थिएन’, सिआइबी स्रोतले भन्यो । प्रहरीको दाबीमा, प्रारम्भिक सोधपुछमा शाक्यले समेत ऋणमा गडबडी भएको स्वीकारेका थिए । सीईओसहितका अधिकारीहरुले भनेअनुसार, गरेको भन्ने उनको भनाई थियो । त्यतिबेला प्रहरीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत (सीसीओ) रिवास श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । ‘सुरुमा देशका विभिन्न सहकारीलाई रेमिट्यान्स कारोबार र धरौटीबापतको रकम भुक्तानी नगरी करोडौं ठगी गरिएको विषयमा प्रभु म्यानेजमेन्टका देवीप्रकाश भट्टचन, सञ्चालक कुसुम लामासहितमाथि अनुसन्धान गरिहेका बेला बैंकबाट प्रवाह भएको ऋणमा समेत ठूलो समस्या देखिएपछि बेग्लै छानबिन भएको थियो ।त्यसपछि व्यवसायी शाक्यसमेत पक्राउ परेका थिए । गुण समूहले रियल स्टेट, हाउजिङ, सिनेमाघर, मोटर पार्टस, व्यावसायिक भवनलगायतका क्षेत्रमा लगानी गरिरहेको छ ।

