काठमाडौं, ११ चैत ।
अकल्पनीय पराजयका कारण दोस्रोबाट तेस्रो दलमा खुम्चिएको नेकपा एमाले शपथग्रहणपछि मात्रै आवश्यक रणनीति बनाएर नयाँ संसदमा सहभागी हुने भएको छ । विहिबार बस्ने पहिलो बैठकमा जेष्ठ सदस्य अनर्जुननरसिहं केसीले सांसदहरुलाई शपथग्रहण गराउँदैछन् । पिताको निधनका कारण अध्यक्ष केपी शर्मा ओली १२ दिनदेखि शोकमै रहेकाले संसदीय दल संचालन, दलको नेता चयन, नयाँ संसदमा पार्टीको भूमिकालगायतका कुनै पनि विषयमा एमालेले छलफल गरेको छैन ।
अघिल्लो संसदमा ७९ सिटसहित उपस्थित एमाले प्रत्यक्षतर्फ ९ र समानुपातिकमा १६ सिट मात्र जितेर नयाँ संसदमा २५ सांसदसहित तेस्रो दलका रुपमा प्रतिपक्षी भूमिका खेल्नेगरी सहभागी हुँदैछ । सचिवसमेत रहेकी सांसद पद्यमा अर्यालले अध्यक्ष ओली नै शोकमा रहेका कारण नयाँ संसदमा कसरी प्रस्तुत हुने विषयमा पार्टीभित्र छलफल हुन नपाएको जानकारी दिइन् । ‘अध्यक्ष कमरेड शोकबाट बाहिर आएपछि संसदमा कसरी अघि बढ्ने, पार्टीले कस्तो भूमिका खेल्ने बारेमा छलफल हुन्छ’ अर्यालले भनिन्,‘हामी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग नै गछौं, उहाँहरुले जे जस्ता सपना, आश्वासन बाँड्नुभएको छ, त्यो पूरा गर्नतिर लाग्नुहोस् भन्ने शुभकामना छ, बेठीक काम गर्नुभयो भने खबरदारी गर्छौं, अहिलेलाई यसभन्दा बढि टिप्पणी गर्नु वान्छनीय छैन ।’ विगतमा संसद सुरु हुनुअघि एमालेले सांसदहरुलाई अलग्गै राखेर विषयगत प्रशिक्षण चलाउने गरे पनि यस पटक त्यसबारे पार्टीले कुनै निर्णय गरेको छैन ।
संसदीय दलको बैठक बसेर नेता चयनलगायतका विषयमा निर्णय भइसकेपछि पार्टीले संसदमा खेल्ने भूमिकाबारे पनि छलफल गर्ने एमालेको तयारी छ । चुनावमा नयाँ पार्टी, युवा अनुहारलाई मतदाताले बढि रुचाएको र मत पनि त्यही अनुसार प्रकट भएकाले एमालेभित्र पनि पुराना पुस्ताका पुराना अनुहार नेताभन्दा प्रत्यक्षबाट निर्वाचित युवा अनुहारलाई दलको नेता चयन गर्न दबाब छ । शीर्ष तहबाट चयन गर्दा उपाध्यक्षसमेत रहेका नेता रामबहादुर थापा‘बादल’को नाम सर्बसम्मत हुने सम्भावना छ । तर, उनी समानुपातिक सांसद हुन् ।
त्यस्तै, महिला अनुहार अगाडि सार्दा सचिवसमेत रहेकी अर्यालको नाम पनि सर्बसम्मतीका लागि छलफल हुनसक्ने एमाले नेताहरुको भनाई छ । तर, प्रत्यक्षबाट निर्वाचित युवा अनुहारका रुपमा भने इलाम–२ बाट निर्वाचित सुहाङ नेम्बाङ या बझाङबाट निर्वाचित ऐन महरमध्येबाट दलको नेता चयन हुनुपर्ने मत पनि एमालेमा वलियो रुपमा उठेको छ ।
निर्वाचनमा प्रकट जनमतअनुसार नयाँ र युवा अनुहारलाई अगाडि सार्नुपर्ने मतलाई पार्टीले सकारात्मक सुझावकै रुपमा ग्रहण गर्ने सचिव अर्यालले बताइन् । ‘बाहिर गरिएको अनुमान र अड्कालबाजी जेजे भए पनि पार्टीभित्र दलको नेता चयनबारे संस्थागत छलफल भएको छैन र विषय पेचिलो पनि छैन । हामी पार्टी अध्यक्षको उपस्थितिमा दलको बैठक बस्छौ, उहाँको निर्देशन र सुझावअनुसार अगाडि जान्छौं’, अर्यालले भनिन्,‘बाहिर र पार्टीभित्रबाट प्रकट भएका सुझावहरुलाई हामीले सुझाकै रुपमा लिन्छौं र सबै पक्षलाई विचार गरेर उपयुक्त निर्णय लिन्छौं ।’
