काठमाडौं १३ चैत।
नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल ले आफ्नो १९१ दिने कार्यकाल पूरा गर्दै आज गृह मन्त्रालयबाट औपचारिक रूपमा बिदाइ भएका छन्। नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिइसकेपछि भोलि नयाँ सरकार गठन हुने तयारी भइरहेका बेला उनले पदबाट विदा लिएका हुन्।
गृह मन्त्रालयमा आयोजित विशेष बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले जेन–जी जनआन्दोलनपछिको जटिल र असामान्य परिस्थितिमा आफूले जिम्मेवारी सम्हालेको स्मरण गरे। उनले आफ्नो कार्यकालमा शान्ति–सुरक्षाको सामान्यीकरण, सुशासनको सुदृढीकरण तथा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा ऐतिहासिक निर्वाचन सम्पन्न गराउनु मुख्य उपलब्धि रहेको बताए।
‘निर्वाचन हुने वा नहुने भन्ने अन्योलबीच पनि प्रशासनिक समन्वय र सुदृढ सुरक्षा तयारीमार्फत निर्धारित समयमै रक्तपातविहीन निर्वाचन सम्पन्न गर्यौं,’ उनले भने, ‘यसले संविधानलाई सही मार्गमा अगाडि बढाएको छ र यसको श्रेय आम नागरिक, सुरक्षाकर्मी तथा कर्मचारीको सामूहिक प्रयासलाई जान्छ।’
मन्त्री अर्यालले आफ्नो कार्यकालमा भएका प्रमुख कामहरू मन्त्रालयको संस्थागत अभिलेखका रूपमा हस्तान्तरण गरेका छन्। उनले जेन–जी आन्दोलनका ४२ जना सुशासन योद्धा र ३ जना प्रहरीलाई शहीद घोषणा गरिएको, घाइतेहरूको वर्गीकरण गरी जीविकोपार्जन भत्ताको व्यवस्था गरिएको तथा आन्दोलनका क्रममा क्षतिग्रस्त ४६५ सरकारी कार्यालय पुनर्निर्माण गरी सेवा सुचारु गरिएको जानकारी दिए।
मन्त्री अर्याल २०८२ भदौ ३० गते गृहमन्त्री नियुक्त भएका थिए। गृह मन्त्रालयका अनुसार उनले आफ्नो कार्यकालमा विपद् व्यवस्थापन, मिटरब्याज पीडितको समस्या समाधान र नागरिकता प्राप्ति प्रक्रियामा सहजता ल्याउने जस्ता जनपक्षीय कामहरू समेत अघि बढाएका थिए।
