काठमाडौं, १३ चैत । पूव प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषयमा छलफल गर्न गृहसचिव र कानुन सचिव प्रहरी प्रधान कार्यालय पुगेका छन् । प्रहरीले मन्त्रिपरिषदको लिखित आदेश मागेपछि उनीहरु छलफलका लागि प्रहरी प्रधानकार्यालय पुगेका हुन् । उनीहरुले आजै पत्र तयार पार्ने बताइएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले एसपीदेखि जवानसम्मलाई शनिबार बिहान ७ बजेभित्र हेडक्वार्टर र अन्य युनिटको हकमा ७ बजे नै चुस्ता पोसाकमा तयारी हालतमा बस्न सर्कुलर जारी गरेको छ । शुक्रबार राति प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा छलफल गरी फर्किएपछि दुवै हेडक्वार्टरले यस्तो सर्कुलर गरेका हुन् । यो सर्कुलरपछि प्रहरी प्रधानकार्यालयमा गृहसचिव र कानुन सचिवको बैठक बसेको हो ।
सुरक्षा प्रमुखहरुसँग गृहमन्त्री गुरुङले जेन(जी आन्दोलनमा दमन गर्ने राजनीतिक र प्रशासनिक उच्च अधिकारीमाथि अनुसन्धान गर्ने विषयमा छलफल भएको थियो । मन्त्री गुरुङले उनीहरुलाई पक्राउ गरेर नै अनुसन्धान गर्नुपर्ने विषय उठाएका थिए । कानुनअनुसार अघि बढ्नुपर्ने कुरा उठेको थियो तर, सुरक्षा प्रमुखहरुले गृहमन्त्रीसँग भेटेर बाहिरिएपछि मातहत फौजलाई चुस्तामा उपस्थित हुन यस्तो परिपत्र गरेका हुन् ।
