
काठमाडौं, १४ चैत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको कदम अलोकतान्त्रिक र अपरिपक्व भएको बताएकी छिन् ।
शनिवार विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले स्थापित लोकतान्त्रिक मान्यतालाई चुनौति दिने र दूरगामी प्रभाव पार्ने निर्णय तत्काल फिर्ता लिएर लोकतान्त्रिक प्रक्रियाको संरक्षण गर्न गम्भीर ध्यानाकर्षणसमेत गराएकी छिन् ।
‘कार्की आयोगको प्रतिवेदन स्वयं पूर्ण नभएको कुरा अध्ययनहरुले देखाएको सन्दर्भमा, सरकार गठन भएको पहिलो दिनमै उक्त प्रतिवेदन कार्यान्वयन गर्दै तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष श्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री श्री रमेश लेखकलाई पक्राउ गरिनु अत्यन्तै संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय हो । यस प्रकारको अपरिपक्व निर्णय बतार्मान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्याससँग मेल नखाने देखिन्छ’ भण्डारीले भनेकी छिन्,‘कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुन्छ । हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्छ र मुलुकमा पुन ः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्छ ।’
भण्डारीले निर्णय फिर्ता लिएर लोकतान्त्रिक प्रक्रियाको संरक्षण गर्न पनि माग गरेकी छिन् ।
‘सुशासनलाई मुख्य एजेण्डा बनाएर गठन भएको वतर्मान सरकारबाट यस्तो अपरिपक्व कदम चालिनु अत्यन्त दुःखद् विषय हो । लोकतान्त्रिक मूल्य–मान्यता तथा संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णयलाई पुनर्विचार गरी फिर्ता लिनु उपयुक्त हुन्छ’ भण्डारीको विज्ञप्तिमा भनिएको छ । अत : सरकारलाई संयमता अपनाउँदै विधि र प्रक्रियाअनुसार अघि बढ्न तथा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणतर्फ गम्भीर हुन आग्रह गर्दछु ।
