काठमाडौं, २० चैत ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम तयारीका लागि पाँच सदस्यीय बजेट लेखन समिति बनाएको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्य, विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता र नीति तथा कार्यक्रमसँग सम्बन्धित तयारी काम गर्न पाँच सदस्यीय समिति गठन बनाइएको हो।
समितिले आर्थिक वर्ष २०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने, कार्यान्वयन गरिने आयोजना तथा कार्यक्रमको प्राथमिकीकरणमा सहजीकरण गर्ने, संघीय संसद्का दुवै सदनमा पेश गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने तथा आगामी आर्थिक वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गरी पेस गर्ने कार्य गर्नेछ।
समितिको संयोजक राजस्व व्यवस्थापन महाशाखाका महाशाखा प्रमुख उत्तर कुमार खत्री रहेका छन्।
त्यस्तै, सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखाका महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखाका महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन्।
सरकारले आगामी आर्थिक वर्षको बजेट तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन समिति गठन गरिएको जनाएको छ।
समितिलाई तोकिएको काम
आर्थिक वर्ष २०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमको लागि सुझाव उपलव्ध गराउने ।
आर्थिक वर्ष २०८३/८४ मा कार्यान्वयन गरिने आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण गर्न सहजीकरण गर्ने ।
संसद्को दुबै सदनमा पेश गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने ।
आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यको मस्यौदा तयार गरी पेस गर्ने ।
