काठमाडौं, २१ चैत । २१ फागुनको निर्वाचनमा अकल्पनीय हारको नैतिक जिम्मेवारी लिएर जनमत र युवा पुस्ताको भावना बमोजिम पार्टी पुनर्गठनका लागि एमालेमा व्यापक दबाब बढेको छ ।
केही दिनयता उपाध्यक्ष विष्णु पौडेल र गोकर्ण विष्ट, पुर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव योगेश भट्टराईसहित अखिलका पुर्व अध्यक्षहरु खिमलाल भट्टराई,ठाकुर गैरेलगायत दुई दर्जन बढी प्रभावशाली नेताहरुकोसमेत ब्याकिङ र सङ्लग्नतामा पार्टीलाई नेतृत्व परिवर्तन गरेर तलैसम्म पुनर्गठन गर्न विशेष महाधिवेशन बोलाउने तयारीको बहस शुरु भएको छ ।
त्यसैको तयारीका लागि महाधिवेशन बोलाउने मागसहितको मस्यौदापत्र तयार पारेर हस्ताक्षर सङ्कलन गर्ने तयारी भएको छ । अहिलेसम्म करिब ५ सय जनाको सुचि तयार पारेर हस्ताक्षर अभियान अघि बढन लागेको एक नेताले बताए । बहुमत हस्ताक्षर पुगे अहिलेको नेतृत्व पुनर्गठनका लागि विधान अनुसार विशेष महाधिवेशन बोलाउनैपर्ने हुन्छ ।
पार्टी पदाधिकारीभित्र पनि अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक विदाई गरेर राष्ट्रिय एकता, स्वाधिनता, समृद्धि, पार्टी एकतालगायत देश र जनताको हितका पक्षमा उनको अविश्मरणीय कामलाई सस्थागत गर्नुपर्ने र नेतृत्वमा विकल्प खोज्नुपर्ने मत बलियो बन्दै गएको छ । तर अहिलेको पदाधिकारी, पुर्व पदाधिकारी या त्यसभन्दा तलको सर्वस्वीकार्य व्यक्तित्वलाई नेतृत्वमा ल्याएर पुनर्गठन गर्ने विषयमा भने मतैक्य छैन ।
कतिपयले पार्टीभित्रको सबै गुटलाई जोड्ने मात्र नभएर कम्युनिस्ट आन्दोलनलाई नै पुनर्जीवन दिनेगरी पुनर्गठन गर्न सकिने सर्वस्वीकार्य सम्भावित नेतृत्व पात्र पुर्व राष्ट्रपति विद्या भण्डारी मात्र भएको बताउन थालेका छन । तर उनी स्वयं यस विषयमा मौन देखिएको मात्र होइन,गम्भीर सङ्कटका बेला नेतृत्वलाई साथ दिनुपर्ने र ओलीको सहमतिबिना पुनर्गठनको फेरि लगाउन नहुने पक्षमा रहेको बताइन्छ ।
मुल नेतृत्वमाथी राज्य र विदेशीहरुले योजनाबद्ध प्रहार केन्द्रीत गरिरहेका बेला उनलाई हटाइहाल्न नहुने बरु एक/डेढ वर्षपछि विकल्प खोज्नुपर्ने मत पनि एमालेमा छ । तर, त्यसअघि नै स्थानीय चुनाव र लगत्तै प्रदेश चुनाव आउने भएकोले पनि पुनर्गठ्नमा खुल्दै गएका पक्षधर नेताहरु छिटो प्रक्रिया अघि बढाउने मनस्थितिमा पुगेका छन ।
पार्टी कार्यालयमा युवाहरुको एउटा समुहले नियमित धर्ना दिएर पुनर्गठन गर्न दबाब दिइरहेको छ । यो कारणले पनि अभियान देशब्यापी बिस्तारित हुन थालेको छ । कतिपय जिल्लामा त्यसको साइड इफेक्ट्समेत देखिएका छन । शुक्रवार उनीहरुले पदाधिकारीहरुलाई साङ्केतिक रूपमा गुलाबको फुल दिएका थिए । त्यसक्रममा उपमहासचिव भट्टराईले युवा पुस्तालाई सक्षम र राम्रो एमाले हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।
उता,उनीहरुको अभियानलाई साथ दिदै अखिलका पुर्व अध्यक्षसमेत रहेका नेता खिमलाल भट्टराईले केन्द्रिय कमिटी विघटन गरि नया नेतृत्व बनाउनुपर्ने अडान सार्बजनिक गरेका छन । उनको अभियानलाई पुर्व अध्यक्ष समिक बडाल, पुर्व महासचिव नरेश रोकायले पनि साथ दिएका छन । अखिल पृष्ठभुमिकै पुर्व नेताहरु माधव ढुङ्गेल, यज्ञराज सुनुवारलगायत पनि पुनर्गठनकै निष्कर्ष नजिक पुगेको एक नेताले बताए ।
पुर्व अध्यक्ष भट्टराईले त मुलुकले नेतृत्व पुनर्गठनको बाटो समाइसकेकाले पछि हट्न नसकिने बताएका छन ।
यस्तो छ भट्टराईको भनाई :
मुलुकको राजनीतिले पुस्तान्तरण र नेतृत्व परिवर्तनको बाटो समाईसकेको छ । यस विषम अवस्थामा हामीले जनता र कार्यकर्ताको भावना बुझौं र परिवर्तनको बाटो हिडौं ।
परिवर्तनको शुरुवात संगठन पुनर्गठनबाट गरौं ।
यसको सम्पुर्ण जिम्मेवारी हामी केन्द्रीय कमिटीले लिऔ । वर्तमान सम्पुर्ण परिस्थितीको नैतिक जिम्मेवारी केन्द्रीय कमिटीको हो । र, आफुले आफैलाई दण्डित गर्दै विघटन गरौं । नयाँ केन्द्रीय कमिटी र नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गरौं । पुस्तान्तरणलाई पार्टीको मुख्य प्रवृति बनाऔं ।

