काठमाडौ २२ चैत।
नेपाली सेना ले आयोजना गरेको “भूतपूर्व सैनिक सम्मेलन–२०८२” आजदेखि औपचारिक रूपमा सुरु भएको छ। लुम्बिनी प्रदेश अन्तर्गत विभिन्न जिल्लामा एकसाथ सञ्चालन गरिएको सम्मेलनको मुख्य कार्यक्रम बुटवलस्थित मध्य पश्चिम पृतना हे.क्वा.मा सम्पन्न भएको हो।
सम्मेलनको उद्घाटन प्रधानसेनापति अशोक राज सिग्देलले गरेका हुन्। कार्यक्रममा भूतपूर्व सैनिकहरूको पुनर्स्थापन, हिताधिकारको संरक्षण, कल्याणकारी कार्यक्रमको प्रवर्द्धन तथा कोषको दिगोपन सुनिश्चित गर्ने विषयमा विशेष जोड दिइएको छ।
नेपाली सेनाले अवकाशप्राप्त सैनिकहरूसँग निरन्तर सम्पर्क कायम राख्दै उनीहरूको सुझाव संकलन गर्ने, सेवा–सुविधामा गुणात्मक सुधार गर्ने र अवकाशपछिको जीवनलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ सम्मेलन आयोजना गरेको जनाएको छ। सम्मेलनमा सहभागी भूतपूर्व सैनिकहरूले मार्चपासदेखि विभिन्न सांस्कृतिक झाँकी समेत प्रस्तुत गरेका थिए।
कार्यक्रममा जेष्ठ भूतपूर्व सैनिक तथा जेष्ठ एकल महिलालाई सम्मान गरिएको थियो भने उत्कृष्ट उद्यमीहरूलाई प्रशंसापत्र र पुरस्कार प्रदान गरिएको छ। साथै, अशक्त तथा फरक क्षमता भएका १८ जना भूतपूर्व सैनिकलाई ह्वीलचेयर र बैसाखी वितरण गरिएको जानकारी दिइएको छ।
तीन चरणमा सञ्चालन हुने यस सम्मेलनअन्तर्गत दोस्रो चरण चैत २५ गते पश्चिम पृतना अन्तर्गतका जिल्लाहरूमा र तेस्रो चरण वैशाख ३ र ४ गते पूर्वी पृतना क्षेत्रका जिल्लाहरूमा आयोजना गरिने कार्यक्रम रहेको छ।
