काठमाडौं २३ चैत।
साहित्य र संगीत दुवै क्षेत्रमा सक्रिय सर्जक देवी घिमिरे को बहुप्रतीक्षित उपन्यास ‘मनझोली’ भव्य कार्यक्रमका बीच लोकार्पण गरिएको छ। उपन्यास समाज, नेपाल को आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली साहित्य क्षेत्रका प्रतिष्ठित स्रष्टाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि हेमनाथ पौडेल ले समाजका विविध आयाम नै साहित्यका आधार सामग्री भएको उल्लेख गर्दै त्यहीँबाट उत्कृष्ट सिर्जना जन्मिने धारणा व्यक्त गरे। उनले ‘मनझोली’ले विशेषगरी आमाबुबाको जीवनकथालाई आख्यानीकरण गरेको र यसको शीर्षक तथा विषयवस्तु दुवै मौलिक रहेको बताए।
साहित्यकार श्रीओम श्रेष्ठ रोदन ले समालोचक गोविन्दराज भट्टराई को भनाइ उद्धृत गर्दै उपन्यास लेखनले साहित्यकारको पहिचान स्थापित गर्ने बताए। उनका अनुसार ‘मनझोली’ यथार्थसँग नजिक र अत्यन्त पठनीय कृति हो।
विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ ले उपन्यासमा बालविवाह र नारी पीडाजस्ता सामाजिक यथार्थको सशक्त चित्रण गरिएको उल्लेख गरे। उनले कृतिमा प्रस्तुत जीवनदर्शन, मानवता र संवेदनशीलता प्रशंसनीय रहेको बताए।
समीक्षक टी.एन. भट्ट ‘विश्वामित्र’ ले ‘मनझोली’लाई छोरीले आफ्ना आमाबुबाको संघर्ष र अनुभवलाई मार्मिक ढंगले प्रस्तुत गरेको कृति भएको टिप्पणी गरे। उनका अनुसार दाताराम र नरमायाको जीवनसंघर्षमार्फत उपन्यासले समाजको यथार्थ उजागर गरेको छ।
त्यस्तै, समीक्षक निमग्ना घिमिरे ले उपन्यासले करिब ८० वर्षअघिको समाज, जीवनशैली र परिवेशलाई जीवन्त रूपमा चित्रण गरेको बताइन्। बहुपात्र, विविध स्थान र पारिवारिक यथार्थको सन्तुलित संयोजनले कृतिलाई अझ प्रभावशाली बनाएको उनको भनाइ थियो।
कार्यक्रममा लिलादेवी गर्तौला, दाताराम घिमिरे, बन्धुराज शर्मा घोरासाइने, प्रकाश तिवारीलगायतले पनि शुभकामना व्यक्त गर्दै कृतिको सफलताको कामना गरेका थिए।
लेखिका देवी घिमिरे ले पाँच वर्षको निरन्तर प्रयासपछि उपन्यास प्रकाशन गर्न सफल भएको बताउँदै यो उपलब्धि आफ्ना लागि विशेष रहेको प्रतिक्रिया दिइन्। हालसम्म आधा दर्जन गीत रेकर्ड गराइसकेकी उनले साहित्यिक यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
उपन्यास समाज, नेपाल का अध्यक्ष शंकर भारती को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन देवी पराजुली ले गरेकी थिइन्।
‘मनझोली’ उपन्यासले नेपाली समाजको यथार्थ, पारिवारिक सम्बन्ध र संघर्षका कथा मार्फत पाठकलाई गहिरो अनुभूति गराउने अपेक्षा गरिएको छ।
