काठमाडौं, २५ चैत ।
अमेरिकासग दुई साता युद्धबिरामको सहमतिसगै इरानले वार्ताका लागि दस बुदे शान्ती प्रस्ताव राखेको छ ।
पाकिस्तानको मध्यस्थतामा आगामी १० अप्रीलबाट राजधानी इश्लामाबादमा हुने अमेरिकासगको द्विपक्षीय वार्ताका लागि इरानले ती प्रस्ताव अघि सारेको हो ।
दस बुदे प्रस्ताव :
१. आक्रमणको पूर्ण अन्त्य: अमेरिका र उसका सहयोगी राष्ट्रहरूले इरानी भूमिमा गरिरहेका सबै प्रकारका सैन्य हमलाहरू तत्काल र पूर्ण रूपमा बन्द गर्नुपर्ने।
२. स्थायी युद्ध अन्त्य: इरानले अस्थायी युद्धविराम मात्र नभई युद्धको पूर्ण र स्थायी अन्त्य हुनुपर्ने माग राखेको छ।
३. होर्मुज जलडमरू खुला गर्ने: बदलामा, इरानले विश्वको महत्त्वपूर्ण तेल मार्ग ‘होर्मुज जलडमरू’ लाई पुनः सञ्चालनमा ल्याउने।
४. पारगमन शुल्क (Fee): जलमार्ग प्रयोग गर्ने प्रत्येक जहाजबाट करिब २० लाख डलर शुल्क लिइने र उक्त रकम ओमानसँग बाँडफाँट गरिने।
५. पुनर्निर्माण कोष: जहाजबाट संकलन गरिएको शुल्क इरानले युद्धमा क्षतिग्रस्त भएका आफ्ना पुल, पावर प्लान्ट र पूर्वाधार निर्माणमा खर्च गर्ने।
६. प्रतिबन्धहरूको फुकुवा: अमेरिकाले इरानमाथि लगाएका सबै प्राथमिक र माध्यमिक आर्थिक प्रतिबन्धहरू हटाउनुपर्ने।
७. युरेनियम संवर्द्धनको मान्यता: इरानको परमाणु कार्यक्रम (युरेनियम संवर्द्धन) लाई शान्तिपूर्ण कार्यका लागि मान्यता दिनुपर्ने।
८. सहयोगीमाथिको आक्रमण बन्द: लेबनानको हिजबुल्लाह लगायत क्षेत्रका अन्य इरानी सहयोगी समूहहरूमाथि भइरहेको आक्रमण रोकिनुपर्ने।
९. जफत सम्पत्तिको फुकुवा: विदेशमा रोक्का गरिएका इरानी बैंक खाता र सम्पत्तिहरू फुकुवा गरिनुपर्ने।
१०. अन्तर्राष्ट्रिय ग्यारेन्टी: यो सम्झौतालाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मार्फत अनुमोदन गराई कानुनी रूपमा बाध्यकारी बनाइनुपर्ने।
