महाधिवेशनले पार्टीमा पुनर्जागरण ल्याउने छ: योगेश भट्टराई, संयोजक, प्रचार समिति

महाधिवेशनले पार्टीमा पुनर्जागरण ल्याउने छ: योगेश भट्टराई, संयोजक, प्रचार समिति

महाधिवेशनले पार्टीमा पुनर्जागरण ल्याउने छ


महाधिवेशनले पार्टीमा पुनर्जागरण ल्याउने छ: योगेश भट्टराई, संयोजक, प्रचार समिति

 

नेकपा एमालेका सचिव तथा दशौ राष्ट्रिय महाधिवेशन प्रचार कमिटीका संयोजक योगेश भट्टराईले नेकपा एमाले विशाल महासागर भएको वताउनुभएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा प्रचार संयोजक भट्टराईले नेपालका सम्पूर्ण कम्युनिष्ट पार्टीका सदस्यहरुलाई समेत एकताबद्ध गर्दै एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने लक्ष्यका एमाले अघि बढिरहेको बताउनुभयो ।   नेकपा एमालेमा अब दशबुँदे र पूर्वमाओवादी होइन, यो सबै विचारधाराहरुको महासागरका रुपमा एकताबद्ध भएको बताउनुभएको छ । 

नेकपा एमालेको दशौँ महाधिवेशनको सन्मुखमा हुनुहुन्छ । तयारी के–के भैरहेको छ ?

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यहि मंसिर १० गते उद्घाटन हुँदैछ । यो महाधिवेशनको काम अन्तिम तयारीमा पुगेको छ । अहिले महाधिवेशनस्थल चितवनबाटै टेलिफोनमार्फत अन्तवार्ता दिइरहेको छु । यहाँ सम्पूर्ण तयारीको अवलोकन गर्दा मञ्च व्यवस्थापन, बन्दसत्रको हल निर्माण, प्रतिनिधिनिहरुको आवास, खानालगायतका कामहरुको तयारी अन्तिम तयारीमा पुगेको छ । देशभरिबाट चितवन आउने क्रम सुरु भएको छ ।  १० गते पाँच लाख भन्दा बढी जनसमुदायको उपस्थिति चितवनमा हुन्छ । हामी त्यसको सम्पूर्ण तयारीमा जुटेका छौँ । 

प्रचारको काम विगतका महाधिवेशन भन्दा फरक ढंगले भैरहेको छ भनिएको छ । फरक कस्तो खालको हो ?

प्रचारको कामलाई हामीले विगतमा जस्तो पोष्ट, भित्तेलेखनबाट होइन कि डिजिटल प्रविधिका माध्ययमबाट गरेका छौँ ।  हाम्रो पार्टी र पार्टी समर्थक साथीहरुका सामाजिक सञ्जाललाई पनि हामीले प्रचारका लागि यो पटक प्रयोग गरेका छौँ ।  महाधिवेशनलाई नै केन्द्रित गरेर डकुमेन्ट्री र छोटा–छोटा भिडियोहरु, पार्टीको तर्फबाट दैनिक समाचार बुलेटिन, पार्टीको फेसबुक पेजबाट महाधिवेशन केन्द्रित गरेर महाधिवशेनबारे अपडेट गराउने उद्देश्यले विभिन्न नेता कमरेडहरुको लाइभ अन्तर्वार्ता जस्ता काम हामीले गरेका छौँ ।  विभिन्न सञ्चारमाध्ययमबाट महाधिवेशनको सन्देश दिने, देशका विभिन्न सहरमा डिजिटल डिस्प्लेमार्फत पनि सन्देश दिने काम पनि गरेका छौँ । 

नेकपा एमालेले कठिन परिस्थितिमा महाधिवेशन गर्दैछ । यस्तो बेलामा महाधिवेशनमार्फत एकताबद्ध एमालेको सन्देश दिनुपर्ने चुनौति पनि छ । यो सन्दर्भमा के–कस्तो व्यवस्थापन गरिरहनु भएको छ ?

यो महाधिवेशनले नेकपा एमालेलाई नयाँ जीवन दिन्छ । नेकपा एमालेको पुनर्जागरण हुन्छ । सबैलाई जानकारी नै भएको कुरा हो । हामीले महाधिवेशनमार्फत पार्टीको नीति र कार्यदिशा सर्वसम्मत ढंगले अगाडि ल्याएको छौँ । जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै समाजवादको दिशामा अघि बढ्ने नीति अगाडि बढाएको छौँ । यो आजका दिनमा कम्युनिष्ट पार्टीका लागि विकसित कार्यदिशा हो । यो कार्यदिशामा हामी एकमत छौँ । त्यो कार्यदिशाको आधारमा समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न हामीले आगामी निर्वाचनमा नेकपा एमालेको बहुमत ल्याउनुपर्छ र सरकार बनाउनुपर्छ ।

यो महाधिवेशनले त्यो संकल्प पूरा गर्ला त ?

हामी, त्यो संकल्प पूरा गर्ने गरी अघि बढ्छौँ अर्थात यो जागरण पैदा गर्छौ । यो महाधिवेशनमा सहभागी हुने २२ सय भन्दा बढी प्रतिनिधि एउटै हलमा बसेर एउटै स्वरले यो प्रतिवद्धता व्यक्त गर्दै चितवनबाट फर्किने छौँ । अस्ति मात्रै सम्पन्न भएको स्थायी कमिटी बैठकमा पार्टीको नेतृत्व चयनका निम्ति सबै नेताहरुले समझदारी अपनाउने, एकतावद्ध भएर जाने, सर्वसम्मत ढंगले नेतृत्व चयन गर्नका निम्ति कोशिस गर्ने भनेर छलफलल गरेका छौँ ।

अहिले नेकपा एमाले एकातिर र अरु राजनीतिक दल अर्कोतिर छन् । यस्तो बेलामा तपाईँहरु आगामी निर्वाचनसँगै देशको ठूलो राजनीतिक दल बन्नुपर्ने ठूलो चुनौति छ । यो महाधिवेशनले त्यसको आधार तयार गर्ला भन्ने कत्तिको अपेक्षा गर्न सकिन्छ ?

नेकपा एमालेको विरुद्धमा बनेको गठबन्धनले केही पनि फरक पर्दैन । नेकपा एमाले एक्लै ५० प्रतिशत भन्दा बढी जनमतलाई कमाण्ड गर्ने लोकप्रिय पार्टी हो । नेकपा एमाले बाहेकका अन्य दलले ५० प्रतिशत कमाण्ड गर्छन् । त्यसैले नेकपा एमाले सबैभन्दा ठूलो र लोकप्रिय दल हो ।  यो महाधिवेशनले थप ऊर्जा पैदा गर्छ र नेकपा एमालेको विरुद्धमा नियोजित षडयन्त्रका साथ खडा भएको गठबन्धनका नियत र उद्देश्यलाई भण्डाफोर गर्दै नेकपा एमालेलाई अझ वैचारिक, जागरुक, सुस्पष्ट र एकताबद्ध बनाएर आगामी चुनौतिहरुलाई सामना गर्दै अघि बढ्छौँ । 

अहिले नेकपा एमालेमा नेकपा माओवादीबाट आउनु भएका र १० बुँदेको आधारलाई पनि समेटेर एकताबद्ध बन्नुपर्ने अवस्थालाई चाँहि व्यवस्थापन कसरी गर्नुहुन्छ ?

यो नेकपा एमाले भनेको विशाल महासागर हो । यो हिन्द महासागर हो, यो प्रशान्त महासागर हो । यो महासागरमा सबै खालका खोलानाला मिसिन्छन् र त्यो महासागरले ती खोलानालालाई तँ मसँग नमिसिई भन्दैन । महासागरमा पुगेर कुनै पनि खोलाको अस्तित्व भेटिन्न  । त्यहाँ त्यो विलय हुन्छ ।नेकपा एमालेभित्र पनि सबै विचारधाराहरु नेकपा एमालेको महासागरभित्र एकताबद्ध हुन्छन् । १० बुँदे वा माओवादी होइन नेपालका सम्पूर्ण कम्युनिष्ट पार्टीका सदस्यहरुलाई समेत एकताबद्ध गर्दै एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने लक्ष्यका साथ हामी अघि बढेका छौँ । 

दशौँ महाधिवेशनले सर्वसम्मत नेतृत्व छनोट गरेर सकारात्मक सन्देश देला भन्ने कत्तिको अपेक्षा गर्न सकिन्छ ?

यसमा म धेरै आशावादी छु । अहिले हाम्रो पार्टीमा प्रतिनिधिको छनोट हुँदा नै तल्लो तहदेखि नै जुन ढंगको सहमति भयो,  त्यसले केन्द्रीय नेतृत्व पनि  सहमतिमा निर्माण हुनसक्छ भन्ने पार्टीमा आत्मविश्वास पलाएको छ । पार्टीको सम्पूर्ण नेतृत्व तह यसमा गम्भीर छ । हामी कोशिस गर्छौं । 

तपाईँहरुले महाधिवेशन सम्पन्न भएसँगै स्थानीय तहको निर्वाचनमा जानुपर्ने छ । त्योसँगै प्रदेश र केन्द्रका निर्वाचनमा जानुपर्छ । तपाईहरुले लिएर जाने एजेण्डा महाधिवेशनको मैझारोपछि कत्तिको सशक्त भएर अघि बढ्ला ?

नेकपा एमालेको नीति, विचार र कार्यदिशा सही छ ।  यसले अबको दिनमा नेपाली समाजलाई समाजवादतिर अघि बढाउँछ । यसले समाजवादको लक्ष्य बोकेको छ ।  यो प्रष्ट विचार छ । यो आम नेपाली जनताको बीचमा लोकप्रिय विचार हो । विगतमा मनमोहन अधिकारीको नेतृत्वमा सरकार बनेदेखि केपी ओली नेतृत्वको सरकार बनेसम्म हामीले लोकप्रिय काम गरेका छौँ ।  विकास निर्माणका काम गरेका छौँ ।  ती कतिपय काम सम्पन्न हुन बाँकी छन् । हामी जनताको बीचमा पुगेर यी काम सम्पन्न गर्दै सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियानमा एमालेलाई साथ दिनुहोस्, यो नेकपा एमाले नेतृत्वको सरकारबाट मात्रै संभव छ । त्यसैले यो निर्वाचनमा नेकपा एमालेलाई बहुमत दिनुहोस् भन्ने छौँ । 

दोस्रो, कुरा नेपालमा राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै आत्मनिर्भर देश बनाउने दिशामा नेकपा एमाले छ भन्ने सन्देश आम नेपालीलाई दिन्छौँ । 

तेस्रो, नेपाल लामो समयसम्म विदेशी शक्तिराष्ट्रको अगाडि कमजोर सावित हुँदै आयो ।  पछिल्लो कालमा नेकपा एमालेको नेतृत्वको सरकारपछि हामी विश्व समुदायमा ठाडो शिर लगाएर नेपालको सानका साथ हामी प्रस्तुत हुन सकेका छौँ । त्यसैले अन्तराष्ट्रिय र छिमेकीहरुको सम्वन्धलाई सुदृढ र सन्तुलित गर्ने काम पनि नेकपा एमालेले गर्छ भनेर हामी जनतालाई भन्ने छौँ ।

चौथो, यो देशमा जातीय, सामाजिक र लैङ्गिक विभेद छन् ।  ती विभेदलाई अन्त गर्दै समतामूलक र न्यायमूलक समाजको निर्माण गर्ने कामको अगुवाई नेकपा एमालेले गर्छ भन्ने कुरा स्पष्ट गर्छौ ।

आजको दिनमा हाम्रो प्रतिद्वन्द्वी पार्टी नेपाली काँग्रेस हो । तर, विगतमा पटक–पटकका परीक्षाहरुबाट नेपाली काँग्रेस असफल भएको तथ्य सबैका सामू छर्लङ्ग छ । हामी यी एजेण्डा लिएर जनताको बीचमा जान्छौँ ।

हामी मंसिर महिनाको १२ गतेसम्म महाधिवेशनको मिशनमा केन्द्रित हुन्छौँ । महाधिवेशन सम्पन्न गरेर चितवनबाट फर्केपछि नेकपा एमालेको अर्जुन दृष्टि आगामी चैतमा हुने स्थानीय निर्वाचन र त्यसपछि हुने प्रदेश र संघीय निर्वाचनमा केन्द्रित हुन्छ । 

अन्त्यमा केही भन्नु छ ?

भोलि नै हाम्रो महाधिवेशनको उद्घाटन हुँदैछ । उद्घाटनको अवसरमा देशभरिबाट कार्यक्रममा सहभागी हुन आउनु भएका, आउन लाग्नु भएका र आउँदै गर्नुभएका पार्टीका सम्पूर्ण कमरेडहरु, समर्थक, शुभेच्छुक सबैलाई चितवनमा हार्दिक स्वागत गर्दछु । यहाँ आउन लाग्नु भएका कमरेडहरुको पनि शुभयात्रा भन्न चाहन्छु ।      

(महाधिवेशनको अन्तिम तयारीमा जुटिरहेको व्यस्त समयमा नेता भट्टराईसँग मोहन बास्तोलाले गरेको कुराकानीः )     


प्रकाशित मिति: शुक्रबार, १० मंसिर, २०७८, १७:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९