नेपाल प्रहरी र सशस्त्र दुवैमा गैरघातक सुरक्षा सामग्रीको अभाव
काठमाडौं । राजावादीको उदण्ड समूहले दुई जनाको ज्यान जाने गरी गरेको प्रर्दशनपछि दुवै प्रहरीलाई हातहतियार खरिदका लागि सहज भएको छ । लामो समयदेखि हातहतियार तथा आवश्यक सामाग्री खरिदको गर्न नसकेका दुवै प्रहरीलाई तीनकुनेमा भएको राजावादीको आन्दोलनले सहज बनाएको हो । राज्य व्यवस्था समितिको बैठकमा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आइजीपी) राजु अर्यालले प्रहरी संगठनहरूलाई साधन श्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिएका थिए । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनहरु साधन श्रोत सम्पन्न हुन नसकेको बताएपछि सरकारले हतियार खरिदको लागि अनुमति दिन लागेको गृहमन्त्रालयका एक उच्च अधिकारीले भने । उनले गृह मन्त्रालयलाई धेरै वर्ष पहिलादेखि प्रहरीलाई साधन श्रोत उपलब्ध गराउन नामहरूको सूचि दिए पनि पूरा हुन नसकेको दाबी गरेका थिए ।
उनले सुरक्षा राष्ट्रको प्राथमिकतामा पर्नुपर्ने उल्लेख गरे । उनले प्रविधि र साधन श्रोत सम्पन्न गर्नका लागि सरकारले बजेट निर्माणको काम भइरहेकाले सबै कुरा समेट्न जरुरी रहेको बताए । प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउन सरकारलाई निर्देशन दिन समिति समक्ष आग्रह गरे ।
सोही बैठकमा नेपाल प्रहरीको आइजीपी दीपक थापाले पनि हातहतियार खरिद गर्नुपर्ने संकेत गरेका थिए । उनले पनि नेपाल प्रहरीमा साधान स्रोत अभाव रहेको बताएका थिए । समय समयमा जनधनको क्षति हुने, शान्ति र अमन चयन खलबल्याउने प्रकृतिका दंगा फसाद, सार्वजनिक अशान्ति, हिंसात्मक गतिविधिलाई नियन्त्रण गरी आम नागरिकमा सुरक्षाको थप अनुभुति दिलाउन प्रयोग हुँदै आएको कम घातक हात हतियार, छोटो दूरीको पेस्तोल, सर्टगन र ग्यास सेलहरुको आवश्यकता रहँदै आएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र दुवैमा गैरघातक सुरक्षा सामग्रीको अभाव छ । दंगा तथा भीड नियन्त्रणका लागि चाहिने ‘राएट कन्ट्रोल गियर’, अश्रुग्यास, ‘ब्लांक फायर’, ‘रबर बुलेट’, ‘मल्टी ग्यास गन’, ‘वाटर क्यानन’ (पानीको फोहोरा हान्ने सवारी), दमकल, गोताखोर उपकरण, विपद् व्यवस्थापनका लागि ‘रबर बोट’, सुरक्षा गस्तीका सवारीलगायत बन्दोबस्तीका अत्यावश्यक उपकरण खरिद गर्न दुवै प्रहरी संगठनले गृह मन्त्रालयमा प्रस्ताव लगेका छन् । यी दुवै संगठनले ल्याएको प्रस्तावलाई मन्त्रालयले अघि बढाउने तयारी गरेको छ । ‘तीनकुने घट्नाले हामीलाई एउटा शिक्षा दिएको छ, अब हातहतियार लगायतका सामाग्री खरिद गर्ने प्रकृया अघि बढ्छ’, मन्त्रालयका अधिकारीले भने । प्रहरीले गत वर्ष नै भीड नियन्त्रण र शान्तिसुरक्षा व्यवस्थापन गर्न ‘राएट कन्ट्रोल गियर’ ८ हजार ८ सय थान, अश्रुग्यास २४ हजार राउन्ड, ब्ल्यांक फायर १ लाख राउन्ड, रबर बुलेट २ लाख राउन्ड, धूवाँ फाल्ने ह्यान्ड ग्रिनेड २ हजार थान र मल्टी ग्यासगन सेल ५ हजार राउन्ड खरिद गर्न गृहसँग माग गरेको थियो । सशस्त्रले पनि सीमा सुरक्षा, भीड नियन्त्रण, गस्ती, विपद् व्यवस्थापनलगायतमा गैरघातक र प्राविधिक उपकरणका लागि आवश्यक बजेट सुनिश्चित गर्न आग्रह गरेको थियो । सीमा सुरक्षालाई प्रभावकारी बनाउन ‘डिजिटल बोर्डर’ को अवधारणाअनुसार उपकरण माग गरेको थियो । यी दुवै प्रहरीको मागलाई सरकारले वेवास्ता गर्दै आएको थियो । अहिले भने प्रहरीलाई बलियो बनाउने भन्दै गृहले हतियार खरिदको प्रस्तावलाई अघि बढाउन लागेको हो । ‘सुरक्षा प्रणाली तथा उपकरण प्राप्ति खर्च’ अन्तर्गत प्रहरीका लागि आव ०७९÷८० मा १६ करोड ८ लाख, ०८०÷८१ मा २९ करोड ८७ लाख र चालु वर्ष ०८१÷८२ मा ४६ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ । सोही शीर्षकमा सशस्त्र प्रहरीका लागि आव ०७९÷८० मा ८ करोड १ लाख, आव ०८०÷८१ मा ४ करोड ६१ लाख र चालु वर्ष ०८१÷८२ मा ६ करोड १ लाख विनियोजन भएको छ । यी दुवै संगठनका लागि सुनिश्चित भएको बजेटपनि सदुपयोग हुन सकेको छैन ।
२०७८ फागुन १६ मा गृह मन्त्रालयले प्रहरी मुख्यालयलाई पत्राचार गर्दै स्थानीय तहको चुनावका लागि हातहतियार र स्रोतसाधनको अवस्था के छ भनेर सोधेको थियो । त्यही वर्षको फागुन १८ मा प्रहरी मुख्यालयले गृहमा गाडी र हातहतियारसहितका सामग्री खरिद गर्न ९३ करोड ९९ लाख रुपैयाँ आवश्यक पर्ने उल्लेख गरेको थियो । प्रहरी मुख्यालयलाई फेरि गृहले अर्को पत्र पठायो । पत्रमा ‘स्थानीय तहको चुनाव, शान्ति सुरक्षा र प्रचलित ऐन÷नियम, स्वीकृत मापदण्ड र कार्यविधिमा रहेर सामग्री खरिद गर्न स्रोत सुनिश्चितता गरिएको’ उल्लेख थियो । अर्थ मन्त्रालयले त्यसअघि (२०७८ चैत २३ गते) नै स्रोत सुनिश्चितताको पत्र गृहमा पठाइसकेको थियो । गृहले मन्त्रीस्तरीय निर्णय गर्दै सोही आर्थिक वर्षभित्र खरिद प्रक्रिया सम्पन्न गर्ने गरी ८४ करोडको स्रोत सुनिश्चितता जानकारी मुख्यालयमा पुग्यो ।
१० करोडमाथिको सामान खरिद गर्दा खरिदपूर्व सचिवस्तरीय निर्णय हुनुपर्ने नियम छ । गृहले प्रहरीले बनाएको वार्षिक खरिद गुरुयोजना– २०७९ वैशाख १९ मा स्वीकृत पनि ग¥यो । सुरक्षा, सामरिक वा प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि– २०६४ को दफा ३ (क) र कार्यविधिको उपदफा ३ बमोजिम गृहले हतियार खरिद प्रक्रिया स्वीकृत गरेपछि प्रहरीले प्रक्रिया अगाडि बढायो । २०७९ असार २४ मा प्रहरी मुख्यालयले ८२ करोड निकासाका लाग गृहमा पत्राचार ग¥यो । बोलपत्र पनि आह्वान भयो । लाजिम्पाटमा रहेको एमएस मर्करी ट्रेडिङ प्रालिले ठेक्का पायो । तर, रकम निकासा नहुँदा खरिद प्रक्रिया अलपत्र प¥यो । त्यसयता सबै प्रकृया रोकिएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९