काठमाडौ, १ वैशाख । मन्त्रिपरिषदका पूर्व अध्यक्ष एवं पूर्व प्रधानन्याधीश खिलराज रेग्मीले नयाँ वर्ष २०८३ सालको शुभकामना दिदै भ्रष्टाचार निवारण, सुशासन प्रवर्धन, सेवा प्रवाहमा तदारुकता र समृद्धिको लागि आगामी वर्ष आधार वर्ष अपेक्षा गरेका छन् । उनले नव वर्ष २०८३ को शुभ आगमनको अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा समृद्धि, खुसी छाओस्, फलोस् फुलोस् भनी कामना दिएका छन् ।
‘नेपाली राजनीतिक इतिहासमा प्रजातन्त्र र जन अधिकारको लागि पटक पटक क्रान्ति र आन्दोलनहरू भए । त्यसकालागि धेरै नागरिकहरूले बलिदान दिए । संविधान सभाबाट जनप्रतिनिधिद्वारा आफ्नो संविधान आफै बनाउने काम पनि २०७२ सालमा पूरा भयो । तर पनि अन्य कतिपय विषयका अतिरिक्त भ्रष्टाचार निवारण र सुशासनको विषय प्रतिवद्धता मै रह्यो, व्यवहारमा सार्थक भएन ।
जेन–जी आन्दोलन पछि परिवेश र परिस्थिति फेरिएको छ । आन्दोलनले दिएको मुख्य दिशा निर्देश भ्रष्टाचार निवारण र सुशासन हो । आन्दोलनकारीको बलिदानपूर्ण अमूल्य रगतको मर्म र भावना अनुरूप अघि बढ्नु नेपाली मात्रको कर्तव्य र दायित्व हो । प्रतिनिधिसभाको निर्वाचनमा युवापुस्ताको बाहुल्यता रहेको छ र तदनुरूप सरकार पनि गठन भएको छ ।
सरकारले अन्य कुरा भन्दा भिन्न कार्यशैलीका साथ द्रुतगतिमा कामहरू अघि बढाउने प्रयास गरेको पाइन्छ । जो सकारात्मक दिशातिर उन्मुख छ । सुशासन भनेको विधिको शासन पनि हो । भ्रष्टाचार निवारण, सुशासन प्रवर्धन, सेवा प्रवाहमा तदारुकता र समृद्धिको लागि आगामी वर्ष आधार वर्ष अर्थात् नेपालीको निमित्त उन्नति र प्रगतिको लागि विशेष वर्ष स्थापित हुन सकोस् भन्ने अपेक्षा र कामना छ’, मन्पिरिषदका पूर्व अध्यक्ष रेग्मीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ।
