काठमाडौँ, ३ वैशाख । नेपाली कांग्रेसले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र आलोनात्मक रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदन सार्वजनिक भएको एक महिनापछि कांग्रेसले भदौ २४ गतेका घटनाको छानबिनका लागि नयाँ उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको हो ।
पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आयोगको प्रतिवेदन विधिसम्मत रूपमा सार्वजनिक नगरेको भन्दै सरकारको आलोचना गर्दै तत्काल सार्वजनिक गर्न आग्रह गरेको हो । साथै राष्ट्रिय मानवअधिकार आयोगको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गर्न कांग्रेसले माग गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जनाएका छन् ।
कांग्रेसले आयोगले आफ्नो कार्यादेशभन्दा बाहिर गएर नीतिगत तथा अभियोजनसम्बन्धी सिफारिस गरेको, राजनीतिक तथा संरचनागत विषयमा अनावश्यक प्रवेश गरेको र यसले जाँचबुझ आयोग ऐन, २०२६ को मर्मसँग मेल नखाएको ठहर गरेको जनाउँदै बैठकपछि जारी विज्ञप्तीमा यो प्रतिवेदनमा भदौ २३ गतेका घटनालाई बढी प्राथमिकता दिइएको तर भदौ २४ गतेका घटनालाई सतही रूपमा मात्र समेटिएको भन्दै प्रतिवेदनको सन्तुलनमाथि गम्भीर प्रश्न उठाएको जनाइएको छ ।
भदौ २४ गते बढी मानवीय तथा भौतिक क्षति भएको दाबी गर्दै कांग्रेसले त्यसबारे पर्याप्त छानबिन नभएको उल्लेख गरेको छ । कांग्रेसले आयोगका सिफारिसलाई स्वतन्त्र कानुनी परीक्षणपछि मात्रै कार्यान्वयन गर्नुपर्ने र आयोगको प्रतिवेदनलाई न्यायिक निर्णय सरह मान्नु संविधान र न्यायका सिद्धान्त विपरीत हुने बताएको छ।
यसैगरी अनौपचारिक रूपमा सार्वजनिक भएको प्रतिवेदन अध्ययन गर्न वरिष्ठ अधिवक्ता यदुनाथ खनाल संयोजकत्वमा गठन गरिएको विज्ञ समितिको सुझावका आधारमा कांग्रेसले भदौ २४ गतेका घटनाको निष्पक्ष, गहिरो र स्वतन्त्र छानबिन गर्न प्राविधिक तथा विशेषज्ञसहितको उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ ।
साथै जाँचबुझ आयोगहरूको कार्यसम्पादन र निष्पक्षतामाथि निगरानी गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने र आयोगको प्रतिवेदनले पीडितलाई न्याय दिलाउने प्रक्रियालाई कमजोर बनाएको निष्कर्ष निकालेको जारी विज्ञप्तिमा जनाइएको छ ।
