काठमाडौं, ३ वैशाख । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले एमाले र नेकपाबीचको सम्भावित एकता र त्यसका लागि गरिएको दौडधुपमाथी गम्भीर प्रश्न उठाएका छन ।
सामाजिक संजालमार्फत पाण्डेले सिमित व्यक्तिको स्वार्थपूर्तिका लागि गरिने सिद्धान्तहीन एकताले पार्टी झन खिइदै जाने चिन्ता जनाउँदै पाण्डेले गम्भीर प्रश्न उठाएका हुन ।
उनले भनेका छन :
हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि ‘वाम एकता’ को दौडधुपमा हुनुहुन्छ। हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन। तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि?
नेकपा (एमाले) आफैंमा एउटा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी हो। हामीले तात्कालिक राजनीतिक लाभमात्र हेरेर हुँदैन, दीर्घकालसम्म यसलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्ने सोच्न जरुरी छ। विचार र निश्चित गन्तव्य विनाको एकताले अन्ततः पार्टीको मूल्य र मान्यतालाई डाइल्युट मात्र गर्छ। अहिलेको वास्तविक आवश्यकता भनेको पार्टीको पुनार्निर्माण गर्दै क्षमतावान र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउनु हो। यसो नगरिए पार्टी झन् साँघुरिँदै जाने निश्चित छ।
विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम हामीले भोगिसकेका छौँ। हिजो मौन बस्नु हाम्रो गल्ती थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ। नेकपा (एमाले) लाई अब सत्ता र स्वार्थको जोडघटाउ होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट हामीले गर्नैपर्छ।
