पोखरा, ४ वैशाख ।
मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच विगतमा स्थापित मितेरी सम्बन्धलाई दुईदशकपछि पुनः सक्रिय बनाइएको छ । यसअघि २०४७ मा पहिलोपटक यी गाउँबीच सांस्कृतिक आदान–प्रदान र आपसी सहयोगको उद्देश्यले मितेरी सम्बन्ध गाँसिएको थियो ।
तर, समयक्रममा नेतृत्व परिवर्तन, नियमित समन्वयको अभावले पछिल्लो दुई दशकयता सम्बन्ध निस्किृय बनेको थियो । स्थानीय तहको पुनःसंरचनापछि तत्कालीन टुकुचे गाविस थासाङ गाउँपालिकामा समायोजन भएको थियो । त्यस्तै जापनाको तोगासिटी पनि अर्काे सहर नाम्तोमा गाभिएका कारणले दुई मुलुकका यी ठाउँबीच सम्बन्ध नवीकरणमा समन्वय भएको थिएन । सम्बन्ध स्थापनाको सुरुवाती चरणमा भने सम्बन्ध राम्रो विकास भएको स्थानीयको भनाइ छ ।
टुकुचे गाउँका स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा जापानस्थित सरोकारवालाको पहलमा पुनः सम्बन्ध सुदृढ गराउने सहमति भएको हो । पुनःस्थापित सम्बन्धमार्फत पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदान–प्रदान, शिक्षा तथा स्थानीय विकासका क्षेत्रमा सहकार्य गर्ने योजना बनाइएको छ । दुई मुलुकका दुई ठाउँबीचको सम्बन्धले टुकुचेको पर्यटन विकासमा टेवा पुग्ने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।
सम्बन्ध स्थापित गर्ने क्रममा केहीदिन अघि जापानी टोली मुस्ताङ आएको थियो । त्यस क्रममा टुकुचे गाउँ र जापानको नाम्तो सिटीको तोगाका बिचमा मितेरी सम्बन्धको साँस्कृतिक मिलन उत्सव आयोजना गरिएको थियो । टुकुचेमा एक भव्य कार्यक्रमकाबीच भएको कार्यक्रम दुई दिनसम्म चलेको हो । टुकुचे गाउँ सुधार समितिले कार्यक्रम समन्वय गरेको थियो ।
कार्यक्रममा सहभागी हुनका लागि जापानको तोयामाका प्रेप्रेक्चर सभामुख सिनिचि ताकेदा, नाम्तो सिटीका मेयर मिकियो तानाका सहितको १८ सदस्यीय टोली टुुकुचे आएको थियो । लामो प्रयासपछि पुनः सम्बन्ध स्थापित भएको उपलक्ष्यमा सांस्कृतिक उत्सव मनाईएको स्थानिय समाजजेवी तथा टुकेचे तोका कार्यसमितिका अध्यक्ष पवन तुलाचनले बताए ।
‘धेरै मेहनतपछि सम्बन्ध नविकरण भएको छ । बिचमा विभिन्न कारणले सम्पर्क टुटेको थियो । अब दुईवटा गाउँ बिचको प्रगाढ सम्बन्धले समग्र देशको समृद्धिमा सघाउ पुग्नेछ,’ उनले भने, ‘टुकुचे र तोगाका बीचमा ३५ वर्षअघि मितेरी सम्बन्ध गाँसिएको थियो । त्यसपछि डेढ दशकसम्म दुई पक्षबिचमा सहयोग आदानप्रदान लगायतका सहकार्य र भ्रमण भएपनि त्यसपछि लामो समय सहकार्य हुन सकेको थिएन । बीचमा टुटेको सम्बन्ध अहिले जुटेको छ ।’
मितेरी सम्बन्ध पछि टुकुचेका ७५ भन्दा बढि युवाले जापानमा गएर सीप सिक्ने मौका समेत पाएको वडाध्यक्ष सुरेश थकालीले बताए । यसका साथै टुकुचेको कृषि विकास र पूर्वाधार विकासमा समेत सहयोग पुगेको उनको भनाइ छ । रोकिएको सहकार्य पुनः अघि बढ्ने वडाध्यक्ष थकालीले बताए ।
नाम्तोका मेयर मिकियो तानाकाले अबका दिनमा सम्बन्ध अझ बिस्तार हुने र दुईपक्षकाबीच सम्बन्ध अझ बलियो हुने बताए । कार्यक्रममा सहभागी हुन आएका पाहुनालाई बाजागाजा सहित भव्य स्वागत गरिएको थियो । कार्यक्रममा मितेरी सम्बन्ध स्थापना गर्नका लागि अगुवाई गरेका समाजसेवी अर्जुनसिँह तुलाचन र नाम्तोका मेयर मिकियोलाइ सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रम समाजसेवी पवन तुलाचन र वडाध्यक्षलाई समेत धौलागिरि महिला बहुउद्देश्यीय सहकारी संस्थाबाट सम्मान सम्मान गरिएको थियो ।
उत्सव अन्तरगत जापानी पाहुनालाई साँस्कृतिक कार्यक्रम, तारो हान्ने खेलकुद, विद्यार्थीको नृत्य प्रदर्शन गराउँदै टुकुचेका विभिन्न गाउँको भ्रमण गराइएको थियो । नाम्तोको टोलीले टुकेचेका विभिन्न विद्यार्थीलय, गुम्वा तथा गाउँपालिका भवनको समेत अवलोकन गरेको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleअस्पतालमा दुई दिन ओपिडी बन्द
