काठमाडौं, ४ वैशाख । एमाले निकट रहेको प्रेस चौतारीमा भाडभैलो भएको छ । विराटनगरस्थित विभिन्न होटलहरुको पैसा तिर्न बाँकी रहेको त्यहाँ तिर्ने पैसा त्यहीको निर्वाचन समितिले उठाएको भएपनि होटलमा पैसा तिर्न बाँकी भएपछि भाँडभैलो भएको हो । त्यहाँ उठेको रकम र खर्चको हिसाब मागेपछि अहिले नेताहरु अध्याँरो अनुहार लगाएर हिडिरहेको चौतारीका एक नेताले भने ।
प्रेस चौतारीका नेताहरुले तत्कालै पदाधिकारी र सचिवालय बैठक बोलाउन माग गरेपनि सुनुवाई भएको छैन । चौतारीको तर्फबाट चन्दा उठाएको रकमको समेत हिसाबकिताब नहुँदा अहिले विराटनगरका कार्यकर्ताहरु आक्रोसित बनेका छन् । साथै देशभरबाट चौतारीमा भएको हिनामिनाको छानवीन गर्न माग उठिरहेको छ ।
प्रेस चौतारी नेपाल संस्था नवीकरण नभएको, गत वर्ष महाधिवेशन भएको विराटनगरको होटलको पैसा नतिरेको साथै एक वर्षदेखि केन्द्रीय कमिटीको बैठक र संगठनको सचिवालय बैठकसमेत नियमित नभएपछि चौतारीभित्र विवाद सिर्जना भएको छ । प्रेस चौतारीका एकजना केन्द्रीय सदस्यका अनुसार हालसम्म प्रेस चौतारी संस्था जिल्ला प्रशासन मार्फत नवीकरण हुनुपर्नेमा त्यो हुन सकेको छैन । यसका लागि बैठक बोलाउन सचिव लगायतका नेताहरुले माग गरेपनि वेवास्था गरिएको छ । एमालेका सचिव भानुभक्त ढकाल र तत्कालिन प्रचारविभाग राजेन्द्र गौतमसँग छानवीन गरौ भनेको भएपनि अहिलेसम्म सुनुवाई भएको छैन । उनीहरुले विराटनगरको हिसाब तिरिदिने भन्दै थुम्थुम्याएका थिए ।
गत वर्ष अधिवेशनको होटलको पैसा समेत प्रेस चौतारीको केन्द्रीय समितिले तिर्नका लागि कुनै पहल गरेको छैन । अधिवेशनका ताका नोमिनेसन र जिल्लाका निर्वाचनका खर्चसमेत व्यक्तिको क्युआरमा गएको विराटनगरको रकम समेत चौतारीले तिरेको छैन । होटल मनास्लु होटलमा मात्रै १० लाख रुपैया तिर्न बाँकी रहेको छ । गत वर्ष वैशाख ११ गते केन्द्रीय समितिको बैठक भए यता एकपटक औपचारिक रूपमा सचिवालय बैठक भएको साथै अनौपचारिक रूपमा भएका बैठकलाई नै माइनुट बनाई चौतारी सञ्चालन गर्दै आएको छ ।
