काठमाडौ ६वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्री सुदन गुरुङको कार्यशैलीबारे तत्काल मूल्याङ्कन गर्नु उपयुक्त नहुने बताएका छन्।
आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गृहमन्त्री गुरुङले भर्खरै मात्रै जिम्मेवारी सम्हालेकाले कामको नतिजा देखिन समय लाग्ने बताए।
पार्टीभित्र र बाहिर गृहमन्त्रीको भूमिकाबारे उठिरहेका प्रश्नका सम्बन्धमा उनले भने, “अहिल्यै मूल्याङ्कन गर्ने बेला भएको छैन, भर्खरै काम सुरु भएको छ।”
उनले रास्वपा लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र हुने प्रश्न, जिज्ञासा र आलोचनालाई स्वाभाविक प्रक्रिया रूपमा लिनुपर्ने पनि स्पष्ट पारे।
गृहमन्त्री गुरुङले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर भौतिक पूर्वाधार मन्त्रालय मातहतका सडक ठेकेदारहरूलाई निर्देशन दिएको विषयबारे सभापति लामिछानेले आफूलाई विस्तृत जानकारी नभएको बताए।
उनले भने, “केही कम्युनिकेसन भएको हुनसक्छ, मलाई सबै कुरा विस्तृतमा थाहा छैन। तथ्य नबुझी म यसै हो भन्न सक्दिनँ।”
यस्तै, मन्त्रीहरूलाई नयाँ आइफोन उपहार दिइएको भन्ने चर्चालाई उनले खण्डन गर्दै गलत समाचारको पछि नलाग्न आग्रह गरे।
सचिवालय बैठकले तय गरेका एजेन्डाहरू सोमबार बस्ने केन्द्रीय समितिको बैठकमा पेस गरिनेछ। बैठकले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। साथै, प्रत्यक्ष निर्वाचित सांसद नभएका निर्वाचन क्षेत्रमा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई जिम्मेवारी दिने पनि निर्णय गरिएको छ।
