अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर’ कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षाकर्मीले हतारहतार मञ्चबाट बाहिर निकालेका छन्।
शनिबार राति भएको यस घटनाले कार्यक्रमस्थलमा ठूलो खैलाबैला उत्पन्न गराएको छ।
राष्ट्रपति ट्रम्प कुराकानीमा व्यस्त भइरहेका बेला अचानक ठूलो आवाज सुनिएको बीबीसीले उल्लेख गरेको छ । लगत्तै सेक्रेट सर्भिसका सशस्त्र एजेन्टहरूले राष्ट्रपति र प्रथम महिलालाई सुरक्षित स्थानतर्फ लगेको समाचारमा उल्लेख छ । घटनास्थलमा रहेका बीबीसीका संवाददाताका अनुसार करिब पाँच पटक गोली चलेको जस्तो आवाज सुनिएको थियो।
आवाज सुनिने बित्तिकै हलमा उपस्थित सयौँ पाहुनाहरू ज्यान जोगाउन टेबलमुनि लुकेका थिए। सुरक्षाका लागि काउन्टर असल्ट टिम का सदस्यहरू अत्याधुनिक हतियारसहित मञ्चमा तैनाथ भएका देखिएका थिए।
घटनाको केही समयपछि राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत एक सन्देश जारी गर्दै सुटर पक्राउ परेको जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘सुटर पक्राउ परिसकेका छन्। मैले कार्यक्रम जारी राख्न सुझाव दिएको छु, तर हामी पूर्ण रूपमा सुरक्षा निकायको निर्देशनमा रहनेछौँ। जे भए पनि यो साँझ योजनाभन्दा फरक हुनेछ।’
घटना लगत्तै एफबीआईका निर्देशक काश पटेल, रक्षा सचिव पिट हेगसेथ र राष्ट्रपतिका सल्लाहकार स्टिफन मिलरलाई पनि सुरक्षाकर्मीले तत्काल हलबाट बाहिर निकालेका थिए। एफबीआई निर्देशक पटेलका नजिकै रहेका बीबीसी संवाददाताका अनुसार पटेलले आफ्नो शरीरले प्रेमिकालाई छोपेर भुइँमा सुतेका थिए र पछि एजेन्टहरूले उनलाई सुरक्षित स्थानमा लगेका थिए।
अन्य सहभागीहरूमा रोबर्ट एफ. केनेडी जुनियर र जेनिन पिरोलाई पनि सुरक्षा घेराभित्र सुरक्षित स्थानतर्फ लगिएको देखिएको थियो।
अहिले वासिङ्टन हिल्टन होटलको मुख्य हललाई ‘लकडाउन’ गरिएको छ भने कैयन् सहभागीहरू अझै हलभित्रै रहेका छन्। सेक्रेट सर्भिसले घटनाको अनुसन्धान गरिरहेको छ। ह्वाइट हाउस पुल रिपोर्टरहरूका अनुसार संदिग्ध व्यक्ति हिरासतमा रहेको कुरा एजेन्टहरूले आपसमा सञ्चार गरिरहेका थिए।
यो राष्ट्रपति ट्रम्पको कार्यकालमा उनी सहभागी भएको पहिलो ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर हो।
