काठमाडौं, १७ वैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले घरबाट निस्कन सकेका छैनन । करिब ३ सातापछि अस्पतालबाट वैशाख ५ गते डिस्चार्ज भएपनि उनी घरबाट निस्कन सकेका छैनन् । जेनजी आन्दोलनको घटना छानविन आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै प्रहरीले ओलीलाई अनुसन्धानका लागि चैत १४ गते पक्राउ गरेको थियो । यसपछि स्वास्थ्य जाँच गर्दा ओलीको पित्तथैलीमा स्टोन देखिएपछि उनी प्रहरी नियन्त्रणकाबीच महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएका थिए ।
यहीबीचमा सर्वोच्च अदालतले ओलीलाई नियन्त्रणबाहिरै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । यसबीचमै चैत ३० गते पत्थरीको शल्यक्रिया गरिएका ओली ५ वैशाखमा अस्पतालबाट डिस्चार्च भए । तर उनी अहिले पनि सार्वजनिक कार्यक्रममा किन देखिएका छैनन भन्नेचाहि धेरैलाई कम थाह हुनसक्छ । उनको शरीरमा दुई वटा शल्यक्रिया गरिएका कारण अहिले पनि घरमा आराम गरिएका छन् ।
ओली निकट स्रोतका अनुसार पत्थरीको मात्र होइन हर्नियाको पनि शल्यक्रिया गरिएका कारण उनी घरबाट बाहिर आउन नसकेका हुन् ।
‘पित्तशैलीमा देखिएको स्टोन र हर्नियाको शल्यक्रियाका कारण घर बाहिर निस्कने अवस्था छैन,’ निकट स्रोतले भन्यो ।
चैत १४ गते प्रहरी नियन्त्रण लगत्तै शिक्षण अस्पतालमा भर्ना भएका थिए । चैत १५ गते ओलीको मल्टिपल स्वास्थ्य समस्या ः उनमा हाइड्रोनेफ्रोसिस, मधुमेह, मेलिटस, उच्च रक्तचाप, हाइपोथायरायडिज्म र कोलेलिथियासिस अर्थात स्टोनको समस्या देखिएको थियो । चैत १९ गते अस्पतालको बेडबाटै भिडियोमार्फत अदालतमा बयान दिएका थिए । चैत २८ गते पुनः स्वास्थ्य परीक्षण गरिएको थियो भने चैत ३० गते स्टोनको र हर्नियाको शल्यक्रिया गरिएको थियो । बैशाख ५ गते डिस्चार्ज भएका थिए ।
ओलीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रण गरेपनि हिरासतमा भने राखेन । प्रहरी नियन्त्रण लगत्तै ओलीलाई स्वास्थ्य परीक्षणका लागि टिचिङ हस्पिटल लगियो । तर अस्पतालले नै उनको अवस्था जटिल रहेको भन्दै एनेक्स १ को शय्या नम्बर ५०१ मा चिकित्सकको निगरानीमा भर्ना गरियो ।
यसपछि निरन्तर उपचारमा रहेका ओलीले कुनै दिन हिरासत बस्नु परेन । बरु उनको उपचार जारी रहँदै चैत २३ गते सर्वोच्चले २६ गतेसम्ममा अनुसन्धान गरिसक्न आदेश दियो । सो मितिभन्दा बढी म्याद नथप्न दिइएको आदेश अनुसार नै ओली चैत २६ गते कानूनी रुपमा हिरासतमुक्त भए । यसकारण उनी स्वास्थ्यको कारणले नै प्रहरी नियन्त्रणमा रहेपनि हिरासत बस्न परेन । उता सँगै पक्राउ परेका पूर्वगृहमन्त्री एवं काँग्रेस नेता रमेश लेखक भने प्रहरी हिरासतमै बस्नुपरेको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा नेकपा एमालेभित्र असन्तुलित वातावरण बनेको प्रष्ट छ । चाहे संसदीय दलको नेता चयनको विषयमा होस् वा रामबहादुर थापा बादलले संसदमा गरेको सम्बोधनको विषयमा नै किन नहोस् एमालेमा दोस्रो तहका नेताहरुबीच असन्तुष्टि र तिक्तता देखन्छि । हाल निर्वाचनको परिणामलाई लिएर वाम एकता गर्ने चर्चासम्म आइपुग्दा एमालेभित्रको असन्तुष्टि धेरै हदसम्म प्रकट भइसकेका छन् । ओली अस्पतालमा रहेका बेला अर्का प्रचण्डसँग भेट भएको विषयले पनि एमालेमा अर्को तरंग ल्याएको थियो ।
ओली र प्रचण्डबीच वाम एकता गर्ने विषयमा छलफल भएको आशंकाबीच नेताहरु पक्ष विपक्षमा उत्रिएका छन् । यो विषयमा केहीले पार्टी एकता हुनुपर्ने पक्षमा बहस गरेका छन् भने केहीले यसलाई स्वार्थको खेल भनिरहेका छन् । एमाले पूर्व महासचिव सुरेन्द्र पाण्डेले हाल पार्टी एकताको बहस चलाउनुलाई स्वार्थको मिलनको रुपमा व्याख्या गरेका छन् । उनले पार्टी एकता विचार र दृष्टिकोणको मिलनले मात्रै हुने भनेका छन् ।
उता उपाध्यक्ष विष्णु पौडेलले एमालेको नेतृत्व पुर्नगठन हुने अभिव्यक्ति दिएका छन् । साथै उनले फेसबुकमा स्टाटस लेख्दै निर्वाचनको पराजयलाई समीक्षा गरेर पार्टी सुदृढीकरण गर्नुपर्ने भनेका छन् । यसबाहेक अन्य विषय एमालेको प्राथमिकतामा नहरेका भन्दै वाम एकताको हल्ला कस्लो चलाइरहेका छ ? भनेर पौडेलले प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘यथार्थबाट अन्यत्र ध्यान मोड्नेगरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कस्ले, किन चलाईरहेका हुन् ?’ ।
नेताहरुको यी अभिव्यक्तिहरुले पनि एमालेभित्र निर्वाचनपछि चरम विचलन रहेको प्रष्ट पार्दछ । यसमा पनि मुख्यतः पार्टी कमजोर भएको अवस्थामा एमालेलाई नै सुदृढ गरेर लैजाने वा अन्य दलहरुसँग एकता गरेर जाने भन्ने विषयमा चरम मतभेद रहेको देखिन्छ ।
