काठमाडौं, २३ वैशाख । जेनजी अभयान्त मिराज ढुंगानाले देशमा रास्वपाका झोलेहरुको उदय भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक सामाग्री पोष्ट गर्दै यस्तो बताएका हुन् ।
हेरौ उनको पोष्ट जस्ताको तस्तै
यो देशमा एउटा नयाँ अन्धा राजनीतिक विज्ञहरूको उदय भएको छ। यी हुन् ‘घन्टेका झोलेहरू’। घन्टेकाले जसले जे गर्यो, यिनीहरू आँखा चिम्लेर ‘हो हो हो, यही हो विकास’ भन्न कुदिहाल्छन्। न कुरा सुन्ने सहनशीलता छ, न सहीलाई सही र गलतलाई गलत भन्ने विवेक छ। २ दिनमै घर खाली गर भनेर निकोपर्सी डोजर हान्न सरकार जाँदा ‘हो हो हो, यो हो विकास, बल्ल देखिस्’ भन्दै घन्टेका झोलेहरू ओरपरका मान्छेलाई भन्छन्। ती सुकुम्बासीलाई व्यवस्थापनको कुरा कसैले गर्यो भने आइलाग्छन्।
ती मान्छेहरू सुकुम्बासी होइन, सबै हुकुम्बासी हुन् भन्छन्। बिचरा, न कति सुकुम्बासी र हुकुम्बासी छन् भनेर तथ्याङ्क वा प्रमाण छ यिनीसँग, न त सरकारसँग नै छ। यिनीहरू प्रमाण बिना नै दुःखी गरिबलाई हैन, फटाहाहरू हुकुम्बासी भन्न सधैं तम्तयार हुन्छन् र सरकार पनि तथ्याङ्क बिना ‘गहुँ पिसिँदा हल्का–फुल्का घुन पनि मर्छ’ भनेर डोजर चलाउन तम्तयार हुन्छ। तथ्याङ्क छैन यी दुवैसँग। विकास भनेको रोटी, कपडा, घर, शिक्षा, स्वास्थ्य पहिलो कुरा हुन् भनेर मान्ने मान्छे म चाहिँ हो। आज जनता महँगीको मारबाट बाँच्न नसक्ने अवस्थामा हुँदा यी विकासका आधारभूत कुरा पूरा गर्नतिर लाग्नु कता कता, सहरलाई सौन्दर्यकरण—त्यो पनि व्यवस्थापन बिना उठिबास लगाएर— प्राथमिकता भएको छ।
आधारभूत कुरा भन्दा पहिला सौन्दर्यकरण? लौ भन झोले हो, नागरिक आर्थिक रूपमा यति कमजोर हुँदा खोला छेउका बस्तीबाट उठिबास लगाउँदा त्यी विकासका आधारभूत कुरामध्ये के पूरा हुन्छ? रोजगारी पाइन्छ? कि महँगी घट्छ? कि स्वास्थ्य सेवा सस्तो हुन्छ? कि शिक्षाको गुणस्तर बढ्छ? सौन्दर्यकरण र कस्मेटिक ब्यूटी बाहेक के पाउँछौ? सरकारले ब्यूटिफिकेसन र विकासको बीचको भिन्नता बुझेर रोटी, कपडा, घर, शिक्षा, स्वास्थ्य सुधार्यो भने त्यो गन्हाउने र बगाउने खोलाको छेउमा कोही बस्दैनन्। सबै राम्रो ठाउँमा जान्छन्। हैन र? धार विपरीत गएर यिनिहरूसँग देशलाई बुझेर विकास गर्ने क्षमता छैन सुरुमा भन्ने पनि मै हो। अथाह गाली खाएँ तर यो लोकतन्त्र हो भनेर बुझ्दै मलाई गाली खाँदा कुनै समस्या भएन।
१८२ आउँदा शुभकामना मैले पनि दिए, सरकारी कार्यालयलाई डिजिटाइज गर्ने कुरामा र अरू राम्रो कुरामा राम्रो कुरा हो भनेर प्रशंसा पनि गरेँ। यो गरेँ किनकि म कसैको झोले हैन। राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने फराकिलो मन मसँग छ। विकास र ब्यूटिफिकेसनको बीचको भिन्नता बुझ। थोरै सहानुभूति पीडामा परेको मान्छेलाई पनि देखाऊ। २–३ सय गालीले मेरो बोली कतै रोकिँदैन। वास्तविक विकास भनेको देशको अर्थतन्त्रमा सुधार, रोजगारी र नागरिकको उच्च जीवनस्तर हो त्यो म जहिले भन्छु जसले जे भन्योस्।

