काठमाडौं, १० जेठ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्दै आफ्नो तर्फबाट २४ बुँदा अघि सारेका छन् ।
उनले स्वास्थ्य संवेदनशील रहेका बेलामा नेतृत्व परिवर्तनको कुरा उठाइएको भन्दै असन्तुष्टि जनाउदै सचिवालय बैठकमा २४ बुँदा अघि सारेका हुन् ।
उनले यसलाई गैरजिम्मेवार र अपराधिक मानसिकताको संज्ञासमेत दिए । यसैगरी एमालेका सचिव बस्नेतले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुनः नेकपा एमालेको सदस्य मार्फत सक्रिय हुने प्रक्रिया सामान्य नभएको बताएका छन्।
पार्टी सचिवालय बैठक बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले भण्डारी आठ वर्ष राष्ट्रपतिको जिम्मेवारीमा रहँदा पार्टीभन्दा बाहिर तटस्थ भूमिकामा रहेको भन्दै गर्दै पार्टीको दस्तावेजमा समावेश गरिनुपर्ने प्रकृतिको निवेदन आउनुपर्ने माग विगतदेखि नै रहेको बताए।
भण्डारीले नेकपा एमालेबाट २०३४ सालमा लिएको पार्टी सदस्यतालाई पुनः कायम गर्नका लागि आठ वर्ष राष्ट्रपतिको कार्यकालमा पार्टीमा सक्रिय नरहेकाले विषय स्पष्ट हुनुपर्ने बताए। साथै बस्नेतले भण्डारीले पार्टीको संगठन विभागमार्फत सदस्यता लिएको जानकारी सचिवालय बैठकमा जानकारी भएको भन्दै सदस्यता प्रक्रिया नपुगेको भन्दै आवेदनमार्फत आठ वर्षको अवधिको छिनोफानो गर्न प्रस्ताव राखिएको तर भण्डारीले त्यसलाई आफ्नो अपमानका रूपमा बुझेर अस्वीकार गरेको बताए।
पार्टीमा भण्डारीलाई कुन भूमिका दिने भन्ने विषयमा समेत छलफल नभएको भन्दै पार्टी अहिले महाधिवेशन वा पुनर्गठन प्रक्रियामा नरहेको कारण जिम्मेवारीसम्बन्धी निर्णय पार्टी नेतृत्वबाट हुने बताए। साथै, पार्टीभित्र नेताहरूको जिम्मेवारी घटाउने वा बढाउने विषयमा मात्रै छलफल हुने बताए।
यसैबीच बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा पछिल्लो समय भ्रमपूर्ण रहेको बताए। एमालेभित्र ओलीको नेतृत्व सबैले स्वीकार गरेको र पार्टीको नेतृत्व परिवर्तन अध्यक्ष ओलीकै राय र प्रस्तावअनुसार मात्रै सम्भव हुने बताए।
