काठमाडौं, १० जेठ । शेयर विवादमा परेर गृहमन्त्रालयबाट बाहिरिएका सुधन गुरुङ फेरि गृह मन्त्रीका रुपमा सिंहदरबार फर्कने चर्चा चलाइएको छ ।
छानबिन समितिको प्रारम्भिक अनुसन्धानमा आरोप पुष्टि हुने आधार नदेखिएको प्रचारबाजपिछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गुरुङलाई पूर्ववत जिम्मेवारीमा फर्काउने चर्चा गरिएको हो । यद्यपि उनको पुनरागमन औपचारिक रुपमा निर्णय भएको छैनन । रास्वपा र सुधन गुरुङ समूहले मात्र चर्चा चलाइरहेको छ ।
‘केही दिनभित्रै गुरुङले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारी छ’, गुरुङ निकट एक रास्वपा कार्यकर्ताले भने । श्रोत नखुलेको सम्पत्तिबाट शेयर खरिद गरेको तथा विवादास्पद व्यवसायी दीपक भट्टसँग व्यवसायिक साझेदारी रहेको भन्दै विरोध भएपछि मन्त्री भएको २६ दिनमा गुरुङले गत ९ वैशाखमा पदबाट राजीनामा दिएका थिए । उनी १३ चैतमा गृहमन्त्री नियुक्त भएका थिए ।
गृह मन्त्रालयको जिम्मेवारी हाल प्रधानमन्त्री शाह आफैंले राखेका छन् । प्रतिनिधिसभामा पनि विपक्षीले गृहमन्त्री नियुक्त नगर्नुको कारणबारे प्रधानमन्त्री शाहसँग जवाफ माग्दै आएका छन् । शाहले सुधनको छानबिन समितिको प्रतिवेदन कुरेका थिए । छानबिनले दोषी औंल्याए विकल्प खोज्ने र कसुर नदेखिए पुनः गृह मन्त्रीको जिम्मेवारी दिने मनस्थितिमा प्रधानमन्त्री शाह थिए ।
सुधन गुरुङ कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा बेहोस भएर उपचारका लागि ल्याइएका जवानहरुको स्वास्थ्य अवस्था बुझ्न शनिबार सशस्त्र प्रहरी अस्पताल बलम्बु पुगेका थिए । त्यसपछि उनी पुनः गृहमन्त्रालयमा फर्कने थप चर्चा चलाइएको हो ।
गुरुङलाई सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसहित उपचारमा संलग्न चिकित्सकले उपचाररत जवानहरुको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । गत २८ वैशाखको मन्त्रिपरिषद् बैठकले गुरुङ् मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न भन्दै एक समिति गठन गरेको थियो ।
उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष रहेको समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह–न्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको थियो । समितिलाई गुरुङबारे सार्वजनिक रुपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी १५ दिनभित्र सुझावसहित प्रतिवेदन बुझाउने कार्यादेश दिइएको थियो ।
