नेकपा एमालेका पुर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एक विद्युतीय सञ्चार माध्यममा दिनुभएको अन्तर्वार्ता पुरै हेरें । उमेरले सत्तरी काटेको भए पनि सचेतना साथ उहाँले कायम राख्नु भएको स्वस्थ जीवन शैलीले अहिले पनि एक युवा जोश, परिपक्क विचार प्रवाह गर्न सक्ने क्षमता देखिन्छ ।
उहाँको अन्तर्वार्ता हेर्दै गर्दा मलाइ २०६१ माघ १९ को ‘शाही कु’ पछि मन्त्रीको रुपमा सप्तरी भ्रमणमा हुँदा नै गिरफ्तार भएर रहँदा बाहिर फैल्याईएका तथ्यहीन अफवाहरु मार्फत उहाँको तेजावोध गरिएको र परिवारलाइ प्रताडित गरिएको सत्यताको बीचमा सम्मानित सर्वोच्च अदालतको आदेशले बन्दी प्रत्यक्षीकरण मार्फत रिहा भएपछि नेपाल बार एसोसिएसन भवन अगाडी पत्रकारहरुलाइ संक्षिप्त प्रतिक्रिया दिसकेपछि कार्यकर्ताहरुले स्वागतमा लगाइदिएको माला निकालेर एमाले कार्यालय तर्फ लाग्दै गर्नु भएको ईश्वर पोखरलेको सम्झना आयो ।
मैले त्यसदिन उहाँमा देखेको ‘इख’ र उहाँको आँखामा देखेको बदलाको भावना हेरेर मैले म संगै रहेको साथिलाइ हेर्दै ‘हेर राजाले ईश्वर पोखरेलहरुलाई जे प्रताडना दिए त्यो महँगो पर्ने भयो , ईश्वर पोखरेलको राजनीति सक्कियो भन्ने कसैले ठानेको भए त्यो गलत हुन्छ । हेर अब के के हुन्छ ।’
२०८३ जेठ ११ मा यो टिप्पणी लेख्दै गर्दा सम्म त इतिहासका घटनाक्रमहरुले पुष्टि नै गरिसकेका छन कि तत्कालिन निरङ्कुश सरकारले गरेको ज्यादती महँगो पर्यो भन्ने अनि राजनीतिक प्रताडनालाइ कराएर जवाफ दिंदै ईश्वर पोखरेलहरु समेतले राजनीतिक सफलताको नयाँ उचाई हासिल गर्नु भएको पनि देखिएकै हो ।
बिडम्वना उहाँ सहित एमालेको नेताहरुको कतिपय त्रुटी कमजोरी समेतले ( कमजोरी समेतले किन भनेको भने उहाँहरुको कमजोरी मात्रैले राष्ट्रिय अन्तराष्ट्रिय खेलले उत्पन्न गराएको आज सम्भव भएको हैन ) उत्पन्न परिस्थितिले आज स्वयम उहाँ र उहाँ सम्वद्ध दल मात्रै हैन सिंगो देशनै अराजकता सहितको लोकप्रियतावादको चपेटामा फसेको छ । यसर्थ२०६१ सालको जस्तै जोस , जाँगर र दृढता लिएर अगाडी बढदै नेपालमा लोकतन्त्र , तदअनकुलको संविधान र विधिको शासन जोगाउनु पर्नेछ ।
हो,विगतमा कतिपय बेला ईश्वर पोखरेलले अपेक्षा अनुसार भूमिका नखेल्नु हुँदा उहाँको आलोचना गरेको भन्न मिल्ने टिप्पणी गरेको छु । खासमा वहुदलीय जनवादको मूल मर्म संवैधानिक सर्वोच्चताको खिलाफ गएर भएको संसद विगठनको विरोधको साटो समर्थन गर्नु , नीति विचार व्यवाहार नमिल्दा नमिल्दै भएको स्वार्थी एकताको अध्याय समाप्त भएर एमाले र माओवादी आफ्नो आफ्नो ठाउँमा पुग्दा पनि एमाले एकता जोगाउन भूमिका नखेल्नु अनि सदैव विधि र पद्दतिको पक्षमा रहने इतिहास विपरित विधान बाट सत्तरी वर्षे र दुई कार्यकाल हटाउने काम रोक्न नसक्नु र त्यसलाई रोक्न देखिने भूमिका नखेल्नु बरु आफैं सत्तरी काटे पछि फेरी अध्यक्ष उठनुले उहाँको आलोचना गरिएको स्पष्ट नै छ । त्यसको साथै विद्या भण्डारीलाइ सक्रिय राजनीतिमा आउनबाट रोक्न हुन्न भन्ने आफ्नै मान्यतालाइ स्थापित गर्न ईश्वर पोखरेल मन वचन र कर्मले लाग्नु भएको भए आज एमालेको अवस्था अर्कै हुन्थ्यो भन्ने लागेकोले पनि समर्थन भन्दा आलोचनाको अवस्था बनेको हो ।
यद्यपि अनेकन वस्तुगत आलोचना गरे पनि उहाँ प्रतिको सम्मान सदैव कायम नै राखेको छु । निजि सम्पर्क सम्बन्धको आधार र अवस्थाको हिसावले नभई उहाँको योग्यता , क्षमता र लगनशीलताको प्रयोग यथोचित र समय सापेक्ष भए नभएको आधारमा नै धारणा राख्दै आएकोले आज उहाँको अन्तर्वार्ता हेरेपछि यति जरुर भन्नै पर्छ भन्ने लाग्यो कि ‘ श्रद्धय ईश्वर पोखरेल तपाईंको शव्द भन्दा पनि अनुहारमा झल्किएको भावले भन्छ कि जनताको पार्टी भनेर चिनिन सक्ने गरेर यहाँ समेतले निर्माण र विकास गरेको एमालेको आजको अवस्थाले तपाईंलाई दुःखित चिन्तित र आक्रोशित बनाएको छ र तपाईं त्यो पार्टी फेरी लोकप्रिय र शक्तिशाली भएको देख्न आतुर हुनुहुन्छ ।’ तपाईंको त्यो जुनुनलाइ सलाम छ । तपाईंको त्यही जुनुनको सम्मान र तपाईंको क्षमता प्रतिको अटल विश्वासको आधारमा म अनुरोध गर्छु कि एमाले पार्टीलाइ पुनरजागरण गर्न अत्यावश्यक भैसकेको नेतृत्व हस्तान्तरण सम्भव बनाउन तपाईंले अग्रसरता लिनुस ।
तपाईंले जसरी पार्टी उठछ भने म कहाँ हुन्छु त्यो चिन्ता छैन भन्नु भयो , हो त्यही जुनुन बोक्नेहरुबाट नै हो एमाले फेरी उठन सक्ने । त्यसैले यहाँलाइ मेरो अनुरोध छ कृपया यहाँले विगतमा सबै निकटता वा दुरी भुलेर असल इमान्दार र समर्पणभाव बोकेका एमालेहरु संग संवाद गर्दै एमाले पुनरजागरणलाइ सम्भव बनाउनुस ।
त्यसो गर्दै गर्दा तपाईं सहित सम्पूर्ण एमालेजनले खोजे चाहे जस्तो विद्या भण्डारीको नेतृत्वमा शंकर पोखरेल , गोकर्ण विष्ट सहित भौगोलिक , जातीय , क्षेत्रिय अन्य कुरा मिलाएर लगायत इमान्दार नेताहरुको नेतृत्व अनि केपी ओली , तपाईं , अष्टलक्ष्मी शाक्य लगायत अग्रजको नीतिगत निर्देशनमा एमालेले रफ्तार लिन सक्नेछ । एमालेको जनपक्षधरता अनि संवैधानिक सर्वोच्चता सहितको लोकतन्त्र प्रति उसको प्रतिवद्धतापूर्ण विगत व्यवाहार बुझेको आधारमा एमाले अझै पनि उठन सक्छ भन्ने विश्वासमा आधारित यो अनुरोध हो , आगे यहाँको मर्जी ।
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।
