बुटवल, ११ जेठ । आइसीटी क्लब अफ कालिकाको एक वर्षका लागि प्रथम निर्वाचित बैठक उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त बैठकमा क्लबका २९ जना निर्वाचित बोर्ड सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो । बैठकमा आगामी कार्यकालका कार्ययोजना, उद्देश्य तथा आइसीटी क्षेत्रलाई स्थानीयदेखि राष्ट्रिय स्तरसम्म विस्तार गर्ने दीर्घकालीन रणनीतिबारे विस्तृत छलफल गरिएको थियो।
बैठकमा आइसीटी अफ कालिकाले आफ्नो नवगठित निर्वाचित कार्यसमिति औपचारिक रूपमा सार्वजनिक गरेको छ। जसअनुसार अध्यक्ष पदमा रामित न्यौपाने चयन भएका छन । उपाध्यक्ष पदमा अमन पोखरेल र आदित्य खनाल रहेका छन् । सचिवको जिम्मेवारी मनसुन पौडेलले पाएका छन् भने सह–सचिवमा समृद्ध पौडेल चयन भएका छन् ।
कोषाध्यक्षमा डेनिस चिडी तथा सह–कोषाध्यक्षमा अप्सरा राणा भाट चयन भएका छन् । कार्यकारी प्रमुख को रूपमा सुसान्त गौतम चयन भएका छन्। इभेन्ट कोअर्डिनेटरको जिम्मेवारी रौनक आचार्यलाई दिइएको छ । आईटी निर्देशकका रूपमा प्रशान्त पाण्डे र विराट पाण्डे रहेका छन् भने मिडिया टिममा आदर्श बन्जाडे र सृजन पाण्डे चयन भएका छन् । कक्षा प्रतिनिधिहरूमा कक्षा ९ का लिडर अकार्शन पौडेल र कक्षा १० का लिडर प्रसून कँडेल रहेका छन्।
साथै विभिन्न शैक्षिक तथा विभागीय प्रतिनिधिहरूमा बिहानी सेक्सनका प्रतिनिधि अर्जुन खनाल, दिवा सेक्सनका प्रतिनिधि सबिना अधिकारी, बिहान बायोलोजी प्रतिनिधि अनुसा अधिकारी, दिउँसो बायोलोजी प्रतिनिधि बिमर्ष बस्नेत तथा कानून प्रतिनिधि एन्जल खत्री रहेका छन् । कार्यकारी सदस्यहरूको रूपमा रागिनी रेग्मी, अश्विन गौतम, बृन्दा ढकाल, विजय पन्थी, बिन्दु न्यौपाने, श्वेता लम्साल, रोशनी भट्टराई, आरध्या सुवेदी तथा आशीष जीएम लगायतका सदस्यहरू रहेका छन् ।

बैठकमा क्लब नेतृत्वले आइसीटी कालिकालाई विद्यालयको सीमाभन्दा बाहिर विस्तार गर्दै राष्ट्रिय स्तरको आइसीटी ज्ञान, सीप र अवसर प्रदान गर्ने मुख्य लक्ष्य रहेको स्पष्ट गरेको छ । अध्यक्षले सम्बोधन गर्दै प्रविधिको तीव्र विकाससँगै विद्यार्थीहरूलाई डिजिटल युगका लागि सक्षम बनाउनु क्लबको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे । उनले क्लबलाई केवल गतिविधि केन्द्र नभई नवप्रवर्तन र सिकाइको केन्द्रको रूपमा विकास गर्ने योजना रहेको बताए ।
उक्त बैठकले प्रत्येक महिनामा कम्तीमा दुई वटा आइसीटी सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । साथै वर्षभरि साइबर सुरक्षा, कृत्रिम बौद्धिकता, डिजिटल मार्केटिङ, रोबोटिक्स, प्रोग्रामिङ तथा उद्यमशीलता जस्ता विषयमा केन्द्रित कार्यशाला, तालिम तथा सेमिनार आयोजना गर्ने योजना प्रस्तुत गरिएको छ । यसले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानसँगै प्रतिस्पर्धात्मक क्षमता विकास गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

क्लबले स्थानीय व्यवसायी, उद्योगी तथा सामाजिक व्यक्तित्वहरूलाई पनि आइसीटी प्रवद्र्धनका लागि सहकार्य र सहयोग गर्न आह्वान गरेको छ। साथै विद्यालय, समुदाय र विद्यार्थीबीच प्रविधिको पहुँच विस्तार गर्दै डिजिटल नेपाल निर्माणतर्फ योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको छ । बैठकमा सहभागी सदस्यहरूले नेपालमा आइसीटी शिक्षालाई अझै व्यवस्थित र व्यावहारिक बनाउन विद्यालय तहदेखि नै प्रविधिमैत्री वातावरण आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
अन्त्यमा, आइसीटी अफ कालिकाले राष्ट्रिय स्तरका आइसीटी प्रतियोगिता, नवप्रवर्तन कार्यक्रम तथा सीपमूलक तालिमहरू आयोजना गरी विद्यार्थीहरूलाई सक्षम, आत्मनिर्भर र नवप्रवर्तनशील बनाउने लक्ष्यसहित निरन्तर रूपमा कार्य गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

