दक्षिण अमेरिकी देश कोलम्बिया यतिबेला ३१ मेमा हुने राष्ट्रपति निर्वाचनलाई लिएर निकै चर्चामा छ । वामपन्थी, मध्यमार्गी र दक्षिणपन्थी तीन धारका उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको यो निर्वाचनमा एक जना नेता एस्प्रिल्लाले पनि आफूलाई परम्परागत राजनीतिक वर्गभन्दा बाहिरको नेताका रूपमा प्रस्तुत गरिरहेका छन् ।
उनी ‘एन्टी इस्टाब्लिसमेन्ट’ अर्थात् परम्परागत राजनीतिक पार्टीको विरोध र ‘मिडिया क्याम्पेनिङ’को पृष्ठभूमिबाट आएका राजनीतिज्ञ हुन् । उनी हुन्, नेसनल साल्भेन्सन मुभमेन्ट पार्टीका नेता ‘अबेलार्दो डे ला एस्प्रिल्ला ।
वर्तमान सरकारको ‘टोटल पिस’को नीति असफल भएको भन्दै उनले विद्रोही समूह, लागुऔषध कार्टेल र अपराधीविरुद्ध सैनिक कारबाही तीव्र बनाउने वाचा गरेका छन् । गुस्ताभो पेट्रोको नीतिलाई देश विनाशको परियोजना भन्ने उनले आर्थिक सुधार र सुशासनको नारा अघि सारेका छन् ।
पेसाले कानुन व्यवसायी रहेका उनी पुराना राजनीतिक शक्तिलाई लगातार चुनौती दिएरै कोलम्बियाको राजनीतिका हलचल मच्चाइरहेका छन् । कोलम्बियाका नेता एस्प्रिल्लाले पनि आफूलाई परम्परागत राजनीतिक वर्गभन्दा बाहिरको नेताका रूपमा प्रस्तुत गरिरहेका छन् । अपराधविरुद्ध कडा भाषा, भ्रष्ट राजनीतिक वर्गमाथि आक्रमण र देश बचाउने व्यक्ति नै आफू भएको दाबी उनको छ ।
उनको यही वाचाले राजधानी बोगोटादेखि क्यारेबियन तटका शहरसम्म उनको चर्चा चुलिएको छ । रवि लामिछाने तुलनात्मक रूपमा मध्यमार्गी ‘पपुलिस्ट’ शैलीमा देखिन्छन् भने अबेलार्दो डे ला एस्प्रिल्ला भने धुर दक्षिणपन्थी मानिन्छन् । त्यसैले उनको राजनीतिक छविलाई अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेई र एल साल्भाडोरको नाइब बुकेलेसँग पनि तुलना गर्ने गरिन्छ । उनी संसदीय राजनीतिहुँदै दशकौँ पार्टी संरचनामा बिताएका नेता होइनन् । बरु अदालतमा प्रभावशाली क्रिमिलन डिफेन्स वकिलमध्ये एक हुन् ।
आक्रामक सार्वजनिक अभिव्यक्ति र विवादास्पद राजनीतिक टिप्पणीसँगै उनी कोलम्बियामा चर्चित बनिरहेका छन् । देशमा बढ्दो असुरक्षा, राजनीतिक ध्रुवीकरण र राज्यप्रतिको अविश्वासका कारण उनी एक वैकल्पिक नेताका रूपमा रूपमा सीमान्तकृत समुदायको आवाज बन्दै गएका छन् ।
कोलम्बियामा असुरक्षा चरम मानिन्छ । गत १७ मेमा कोलम्बियाको कुबरलमा पूर्वमेयर रोजर्स डेभिया र उनका सहयोगीको गोली हानी हत्या भयो । उनी राष्ट्रपति उम्मेदवार अबेलार्दो डे ला एस्प्रिल्लाका निकट सहयोगी मानिन्थे । रोजर्स डेभियाले सन् २०२० देखि २०२३ सम्म कुबरलको मेयरका रूपमा काम गरेका थिए, जुन राजधानी बोगोटाबाट १७० किलोमिटर टाढा पर्छ ।
यो क्षेत्रमा तीन सशस्त्र समूहबीच संघर्षको केन्द्र मानिन्छ । यसमध्ये दुईवटा समूहलाई अमेरिकाले आतंकवादी समूह मान्छ । तेस्रो समूह भने फार्कबाट अलग भएर बनेको विद्रोही समूह हो ।
गत वर्ष कोलम्बियामा राष्ट्रपति पदका उम्मेदवार मिगुएल उराइबको पनि गोली हानी हत्या भएको थियो । उनी पनि दक्षिणपन्थी उम्मेदवार थिए । उराइब लामो राजनीतिक पृष्ठभूमि भएको परिवारका सदस्य थिए । उनका हजुरबुबा जुलियो सेजर टर्बेले कोलम्बियामा सने १९७८ देखि १९८२ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । उनकी आमा डायना टर्बेलाई एउटा कुख्यात ड्रड लर्ड पाब्लो एस्कोबार नेतृत्वको मेडेलिन कार्टेलले अपहरण गरेको थियो । उनी सन् १९९१ मा असफल सैन्य उद्धारका क्रममा मारिएकी थिइन् । उराइब सन् २०२२ देखि सिनेटर थिए र राष्ट्रपतिको उम्मेदवारका रूपमा प्रचारमै रहँदा उनको हत्या भएको थियो ।
यस्ता घटनाले आक्रान्त कोलम्बियाली जनताले देशमा सुरक्षा, स्थिरता र विकास दिने वैकल्पिक राजनीतिक नेतृत्व खोजिरहेका छन् । यहीबेला राजनीतिमा अबेलार्दोको उदयलाई सामान्य चुनावी घटनाका रूपमा मात्रै मान्न सकिँदैन । बरु कोलम्बियाली समाजभित्र गहिरिँदै गएको पुराना दलप्रतिको मोहभंग, बढ्दो असुरक्षा, लागुऔषध तस्करीको जालो र असन्तुष्टिको राजनीतिक अभिव्यक्ति हो । कोलम्बियामा लामो समय वामपन्थी गुरिल्ला युद्ध चल्यो । फार्क विद्रोहीले मात्रै ५ दशकभन्दा लामो समय भूमिगत युद्ध लडेको कोलम्बिया लामो समय विद्रोह, लागुऔषध कार्टेल र अस्थिरताबाट गुज्रिन बाध्य बन्यो ।
सन् २०१६ मा क्युबाको मध्यस्थतामा सरकार र फार्क विद्रोहीबीच भएको शान्ति सम्झौतालाई विश्वले ऐतिहासिक उपलब्धि मानेको थियो । देशमा चलेको पाँच दशक लामो युद्ध अन्त्य भए पनि सम्झौताप्रति कोलम्बियाभित्र पूर्ण सहमति बनेन र समाजको एउटा ठूलो हिस्साले त्यसलाई अहिले पनि ‘न्यायबिनाको शान्ति’ ठान्छ, जसले सशस्त्र हिंसा अन्त्य भए पनि आमअसन्तुष्टिको समाधान गर्न सकेन ।
ग्रामीण क्षेत्रमा हिंसा पूर्ण रूपमा रोकिएन भने लागुऔषध कारोबार जारी रह्यो र राज्यको उपस्थिति कमजोर देखियो । कोलम्बियामा वामपन्थी नेता गुस्ताभो पेट्रो सत्तामा आएपछि सामाजिक सुधार, शान्ति वार्ता र असमानता न्यूनीकरणको एजेन्डा अघि सारे । गुस्ताभो आफैँ कुनै समय एम १९ नामक छापामार लडाकु समूहका नेता थिए । उनीमाथि पनि सुरक्षाको प्रश्नमा कमजोर बनेको आरोप लाग्ने गर्छ । यही वातावरणका कारण डे ला एस्प्रिल्लाले लोकप्रियता कमाए । सिधा भाषा, भावनात्मक र उत्तेजक शैलीले उनलाई कोलम्बियाली जनतामा छिट्टै स्थापित गर्यो ।
सामाजिक सञ्जालमा राख्ने छोटा भिडियो, आक्रामक भाषण र राष्ट्रवादी सन्देशका कारण उनले आफूलाई ‘निर्भीक राष्ट्रवादी’ नेताको रूपमा स्थापित गरेका छन् । यो निर्वाचनमा उनीसँगै इभान सेपेडा प्रमुख दाबेदार छन् । वामपन्थी उम्मेदवार इभानलाई वर्तमान राष्ट्रपति गुस्ताभो पेट्रोको समर्थन छ ।
हालै गरिएको एक चुनावी सर्वेक्षणमा ६३ वर्षीय इभान सेपेडा नै मुख्य दाबेदार भएको देखाएको छ । वामपन्थी विचारधाराका नेता सेपेडा एक अनुभवी राजनीतिज्ञ मानिन्छन् । उनले केही वर्षसम्म सामाजिक न्याय, शिक्षामा सुधार र गरिब वर्गको उत्थानको पक्षमा काम गर्दै आएका थिए । बलियो जनसमर्थन र सामाजिक मुद्दाका कारण उनी प्रभावशाली उम्मेदवार हुन् । तर, उनीसँग पनि निर्वाचन जित्न आवश्यक ५० प्रतिशत मत देखिँदैन ।
सर्वेक्षणमा सेपेडाको पक्षमा ४४.६ प्रतिशत मत देखिएको थियो भने डे ला एस्प्रिल्लाको पक्षमा ३१.६ प्रतिशत मत देखिन्छ । योबाहेक पालोमा भ्यालेन्सियालाई राष्ट्रपति बनाउनुपर्ने पक्षमा १४ प्रतिशत मत देखिएको थियो । उनीहरूबाहेक अन्य केही उम्मेदवार चुनावी मैदानमा छन् । कोलम्बियामा पहिलो चरणमा कुनै एक उम्मेदवारले राष्ट्रपति निर्वाचित हुन आवश्यक ५० प्रतिशत मत नकटाएमा दोस्रो चरणमा मतदान हुन्छ ।
कोलम्बियाको निर्वाचनमा दक्षिणपन्थी उम्मेदवारहरूले अर्थव्यवस्था, सुरक्षा र परम्परागत मूल्यमान्यतालाई चुनावी एजेन्डा बनाएर मतदाता आकर्षित गरिरहेका छन् । चुनावी प्रचारको अन्तिम चरणमा भएका र्यालीमा सबै उम्मेदवारले आफ्नो सम्पूर्ण शक्ति र योजना सार्वजनिक गरेका छन्, जसले यसपटकको निर्वाचनको परिणाम कसको पक्षमा जान्छ भन्ने स्पष्ट भन्न कठिन बनेको बताइन्छ ।
विश्वव्यापी रूपमा हालका वर्षहरूलाई राजनीतिक रूपमा विश्लेषण गर्ने हो भने दक्षिणपन्थी शक्तिको बोलबाला बढ्दै गएको छ । तर, २०२२ मा दक्षिणपन्थी लहर चिर्दै वामपन्थी नेता पेट्रो राष्ट्रपति बने । कोलम्बिया एक प्रकारले भन्ने हो भने लागुऔषधको राजधानी नै मानिन्छ, जहाँ खतरनाक लागुऔषध तस्कर समूहबीच मुठभेड सामान्य मानिन्छन् । सरकारसम्मै उनीहरूको पहुँच हुन्छ भने जो उनीहरूको विरुद्धमा उभिन्छ, तिनीहरू जुनसुकै बेला मारिन सक्छन् ।
विगतमा राष्ट्रपति पदका उम्मेदवारहरू एलिसर गेटन, जेमे पार्दो लिल, बर्नार्डो जरामिलो, कार्लोस पिजारो, लुइस कार्लोस्गलन र मिगुएल उराइबको हत्यालाई यस्तै आतंकसँग जोडेर हेरिन्छ । कोलम्बिया यस्तो देश हो, जहाँ सुरक्षा, विकास र लागुऔषधको विरोध गर्नु असाध्यै चुनौतीपूर्ण छ । ३४ प्रतिशत मानिस गरिबीको रेखामुनि छन् भने १ करोड २५ लाखभन्दा बढीले प्रतिदिन २ डलर मात्रै कमाउँछन् । ८१ प्रतिशत मानिस शुद्ध पिउने पानीको अभावमा छन् । अब जो राष्ट्रपति बन्छ, उसका सामु देशको यो दुर्दशा अन्त्य गर्ने चुनौती हुनेछ ।
दक्षिणपन्थी एस्प्रिल्लालाई मध्यमार्गी वर्गको मत लिन निकै कठिन छ । त्यसैले उनले वामपन्थी र मध्यपन्थी मतदाताको विश्वास जितेर दक्षिणपन्थी मत विभाजित हुन दिएनन् भने राष्ट्रपति बन्ने सम्भावना रहन्छ । अघिल्लोपटक कोलम्बियाका जनताले पहिलोपटक वामपन्थी उम्मेदवारलाई राष्ट्रपति बनाएका थिए । यसपटक पनि वामपन्थी सेपेडालाई जिताउँछन् वा डे ला एस्प्रिल्लाले बाजी मार्छन् । त्यो हेर्न भने केही दिन पर्खिनुपर्नेछ । (एजेन्सीको सहयोगमा)
