काठमाडौं, १४ जेठ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले गणतन्त्र दिवसको अवसरमा शुक्रवार(भोलि) टुँडिखेलमा आयोजना हुने गणतन्त्र समारोह कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्दिन भन्नु गैरजिम्मेवार र अनुत्तरदायी व्यबहार भएको टिप्पणी गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले सम्बोधन नगर्नु जनताप्रति अनुत्तरदायी र गैरजिम्मेवार व्यबहार हुने निष्कर्ष निकालेको हो।
बैठकपछि प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीले परम्परा विपरीत गणतन्त्र दिवसको अवसरमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन नगर्ने भन्नु गैजिम्मेवार अभिव्यक्ति भएको बताइन् ।
‘प्रधानमन्त्रीमा जनताप्रतिको उत्तरदायित्वको कमी र गैरजिम्मेवारीपन भएको हामीले बुझ्यौँ’ थापाले भनिन् । सम्बोधन नगर्ने भए गर्न नसक्नुको कारण खुलाएको भए स्वाभाविक मान्न सकिने निष्कर्ष आफूहरूको रहेको थापाले बताइन् ।
‘जान नसक्ने कारण खुलाएको भए उपयुक्त हुन्थ्यो । कारण पनि नखुलाउने र सम्बोधन पनि नगर्ने कार्य गैरजिम्मेवारपन हो,’ उनले भनिन् । प्रधानमन्त्री शाहले गणतन्त्र दिवसको अवसरमा आयोजना हुने विशेष समारोहमा सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेका छन्।
त्यस्तै बैठकले शाह नेतृत्वको सरकारसँग जनता निराश हुन थालेको निष्कर्ष पनि निकालेको छ।
