काठमाडौं, १८ जेठ । नेपालले भारतको भूमि मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमा रास्वपाका सांसदहरुले ताली ठोकेर समर्थन गरेका थिए । उनीहरुले यति धेरै अन्धभक्त भए कि भारतले नेपालको भस्मि भूमि होइन नेपालले नै भारतको भूमि मिचिरहेको छ र नेपालले विवाद गरिरहेको छ जसरी ताली ठोकेर समर्थन गरेका थिए ।प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर देशको राष्ट्रियता र अखण्डताको विरुद्धमा अभिव्यक्ति दिएपछि प्रधानमन्त्री बालेन्द्र शाह विवादमा तानिएका छन् । लिपुलेक-लिम्पियाधुराको प्रसङ्गमा सांसदले उठाएको प्रश्नमा जवाफ दिँदै गर्दा उनले ‘नेपालले पनि भारतको सिमा मिचेको’ अभिव्यक्ति दिएका थिए ।
दु:खद् त के भने प्रधानमन्त्रीले यसो भनिरहँदा २७५ सदस्यीय प्रतिनिधिसभामा एक जना सांसदले पनि नियमापत्ति गरेनन् । सानोतिना कुराहरुमा नियमापत्ति गर्न बानी परेका सांसदहरु कसैले पनि नियमापत्तिको हात उठाएनन् । सत्तापक्षीय सांसदहरुले त प्रधानमन्त्री यसो भनिरहँदा पनि ताली पिटिरहेका थिए ।
प्रधानमन्त्री भन्दै थिए, ‘तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ । भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ । यो कुरा चैं अस्ति भर्खर थाहा पाएँ । त्यही भएर दुवै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरुले मिच्नुभएको छ, के छ त्यसलाई बसेर एउटा साथीको रुपमा समाधान गर्ने सोच राखेका छौं ।’
प्रधानमन्त्रीले यसो भन्नासाथ रास्वपा गड्गडाएर ताली बजाएका थिए । वैठकमा रास्वपा सभापति रवि लामिछाने पनि उपस्थित थिए । राष्ट्रवादी छविका रमेश प्रसाईंदेखि राजीव खत्रीसम्म बैठकमै थिए । सबैजना ताली बजाउनै व्यस्त रहे ।
यता प्रतिपक्षी सांसदहरु चाहिँ प्रधानमन्त्रीको प्रश्नोत्तर संसद नियमावलीअनुसार नभएको भन्दै विरोध जनाउन थाले । एमालेबाट बोलेका गुरु बराल, त्यसपछि श्रम संस्कृतिका आर्यन राई, नेकपाका वर्षामान पुन र एमालेकै ऐन महरले समेत प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाएनन् ।
कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेवे र एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल पनि बैठकमा उपस्थित थिए । उनीहरु दुवैले बोल्न समय मागेनन् ।
पहिलोपटक प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाइन् कांग्रेसकी सचेतक बासना थापाले । उनले प्रधानमन्त्रीको अभिव्यक्ति पुष्टि गर्न वा संसदको रेकर्डबाट हटाउन माग गरिन् । अनि मात्रै, प्रतिपक्षी खेमाको होस खुल्यो । उनीपछि नेकपाका रमेशकुमार मल्लले यो विषयलाई गम्भीररुपमा उठाए । त्यसपछि बल्ल एमालेकी भूमिका लिम्बु सुब्बाले बोलिन्।
तर, आजको बैठकको प्राथमिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति परेन । दुई प्रखर प्रतिपक्षी नेता ज्ञानेन्द्र शाही र हर्क साम्पाङको अनुपस्थिति खट्कियो ।
