काठमाडौं, १८ जेठ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले “एकीकृत ट्राफिक व्यवस्थापन प्रणाली तथा सडक सुरक्षा” सम्बन्धी विभिन्न कार्यशाला गोष्ठी तथा रणनीतिक कार्यक्रम सञ्चालन गरिरहेको छ।
उक्त कार्यक्रमहरूमा आफ्नो धारणा राख्दै नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की ले आधुनिक प्रविधिको प्रयोगमार्फत ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनु आजको आवश्यकता भएको बताएका छन्। उनले बढ्दो सवारी चाप, शहरीकरण र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन गर्न एकीकृत ट्राफिक व्यवस्थापन प्रणालीको विकास र कार्यान्वयन अपरिहार्य रहेको उल्लेख गरे।
आइजिपी कार्कीले सडक सुरक्षालाई केवल ट्राफिक प्रहरीको जिम्मेवारीका रूपमा नभई राज्यका निकाय, स्थानीय तह, सरोकारवाला संस्था तथा आम नागरिकको साझा दायित्वका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। उनले प्रविधिमा आधारित निगरानी, स्मार्ट ट्राफिक सिग्नल, डिजिटल सूचना प्रणाली तथा तथ्यांकमा आधारित व्यवस्थापनमार्फत ट्राफिक सेवालाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको बताए।
कार्यक्रममा सहभागी विज्ञ, सरोकारवाला निकायका प्रतिनिधि तथा सुरक्षा अधिकारीहरूले सडक सुरक्षा सुधार, दुर्घटना न्यूनीकरण तथा दिगो यातायात व्यवस्थापनका लागि समन्वयात्मक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।
