काठमाडौं, १९ जेठ । जिल्ला प्रहरी परिसर, काठमाडौं र ललितपुर वरिष्ठ उपरीक्षक (एसएसपी) फेरिएका छन् । गृह मन्त्रालयस्तरीय निर्णय अनुसार, सोमबार विभिन्न ३३ जना एसएसपीहरूको सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले सोमबार साँझ सरुवाबारे जानकारी गराएका हुन् । काठमाडौंको एसएसपीमा रमेश थापा थिए भने ललितपुरको एसएसपीमा होविन्द्र बोगटी थिए । थापालाई काठमाडौंबाट सरुवा गरेर मधेश प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा जनकपुर, धनुषा सरुवा गरिएको छ । उनको काज भने नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय रहने मानवस्रोत विकास विभागले जनाएको छ । ललितपुरका एसएसपी बोगटीलाई भने नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, नक्सालमा सरुवा गरिएको छ ।
