काठमाडौं, १८ जेठ ।
सशस्त्र प्रहरी बलको ईन्टेलिजेन्स व्युरोले ट्रमाडोल हाईड्रोक्लोराइड क्याप्सुल (ट्रामोल–५०) नामक लागूऔषध २१ हजार ६४ पत्ता (२ लाख १० हजार ६ सय ४० क्याप्सुल) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जेठ १२ गते राती करीब साढे २ बजे भक्तपुर जिल्ला मध्यपुर थिमी–६ कमेरेटारबाट काभ्रे जिल्ला पनौती नगरपालिका–५ घर भई भक्तपुर कटुन्जेमा डेरा गरी बस्ने ४१ बर्षिय विरध्वज तामाङलाई आवश्यक सोधपुछको लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीले निज तामाङको सूचनाको आधारमा ललितपुर जिल्ला गोदावरी नगरपालिका–२ बिशंखुनारायण मन्दिरबाट ३ सय मिटर अगाडि कोटडांडा जाने रोडको छेउमा पतकरले छोपेको अबस्थामा ६ वटा बोरा र २ वटा चाउचाउको कार्टुनमा लुकाईछिपाई राखेको अवस्थामा उल्लेखित लागूऔषध फेला पारेको हो ।
उनकै सूचनाको आधारमा लागूऔषध लुकाउने अर्का व्यक्ति काभ्रे जिल्लाको कोशीपारी–१ स्थायी घर भई ललितपुर जिल्लाको हरिसिद्धीमा डेरा गरी बस्ने ट्याक्सी चालक ३८ बर्षिय सान्तबहादुर तामाङ र उनले चलाउने गरेको प्रदेश ०१–००२ ज ८८६३ नम्बरको ट्याक्सीसहित जेठ १८ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
निज तामाङले लागूऔषध बोक्न ट्याक्सी प्रयोग गरेको आशंकामा नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार नियन्त्रणमा लिइएका विरध्वज तामाङलाई सशस्त्र प्रहरीले जेठ १२ गते नै आवश्यक कारवाहीको लागि प्रहरी बृत्त थिमीमा बुझाएको थियो भने सोमबार नियन्त्रणमा लिइएका सान्तबहादुर तामाङलाई बरामद लागूऔषध र ट्याक्सीसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरी प्रभाग गोदावरी ललितपुरमा बुझाइएको छ ।
सो लागू औसध केही दिन अघि काठमाडौ भित्रीएको सुचना पाए पछि ब्युरोले पिछा गरेको थियो ।
कलंकी बाट बिरध्वज तामाङले उक्त लागू औसध ललितपुरको चंगाथली पुर्याएको बुझिएको छ । त्यस पछि उनलाइ सशस्त्र प्रहरिले नियन्त्रमा लिएको थियो ।त्यस लगत्तै आज नियन्त्रणमा लिइएका ट्याक्सी चालकले लागू औसध हरिसिद्दिमा केही दिन राखेर आज बरामद भएको ठाउँ सम्म सोही ट्याक्सी प्रयोग गरेर लुकाएका थिए ।
