केपी ओली कमजोरी रहित मानिस हैन , वहाँ बाट भए गरेका थुप्रै कमजोरी उपर जमेर आलोचना गर्दै गर्दा झोले हौँ भन्नेहरु बाट गाली खाएको छु । तथ्यले अन्यथा प्रमाणित गर्दा माफी मागौंला तर केपी ओली सर्व शक्तिमान हुँदा उहाँहाँ बाट फाइदा लिन वहाँलाइ बा भन्नेहरुको तालमै एमाले लागे पछि एमाले बिग्रेर बामाले भयो भन्ने पनि मै हो । अनि भाद्र २३ गते दर्जनौं जेन जी युवाहरुले साहादत प्राप्त गरिसके पछि कारणहरु खोज्दै गरौँला तर रगतको आहालमा सत्ता लम्ब्याउनु हुन्न तपाईंले राजिनामा दिनुपर्छ भनेर सार्वजनिक रुपमा लेख्ने पनि मै हो । त्यति मात्रै नभई भाद्र २३ गते दिनमा भएको कोहोराम र त्यसको पिडा बाट देशलाइ निकाल्दै पिडितको घाउमा मल्हम लगाउँन र थप क्षेति हुन नदिन तत्कालिन सत्तारुढ दलहरु भित्र बाट हुन सक्ने एक मात्रै स्वीकार्य व्यक्ति गगन थापालाइ प्रधानमन्त्री दिनुपर्छ भन्ने पनि मै थिएँ ।
अहिले पनि मलाइ लाग्छ त्यति हुन सकेको भए लोकतन्त्र , कानुनि शासनमा कुनै खतरा आउने थिएन , असंवैधानिक रुपमा नियुक्ति लिएको वा दिएको आरोप सुशिला कार्कीले खेप्नु पर्ने थिएन , असमयमा चुनाव गर्दै राष्ट्रको ढुकुटीमा थप क्षेति हुने थिएन अनि सबै भन्दा महत्वपूर्ण कुरा भाद्र २४ गते देश खरानी हुने थिएन । हो उल्लेखित सबै घटनाहरु बाट अगाडी बढदै आजको अवस्थामा आउन केपी ओलीको कतिपय कमि कमजोरीले काम जरुर गरको छ र त्यसको नैतिक जिम्मेवारी वहाँले लिनु नै पर्छ । यद्धपि यति भन्दै गर्दा पनि यो जरुर भन्छु कि आज वहाँकै सामुन्ने “ एमाले यसै गरेर अगाडी बढन सक्दैन” भन्दै कुर्लने विष्णु पौडेल भन्दा आज पनि केपी ओली ज्यादा सम्मानित र आदरणीय हुनुहुन्छ ।
त्यति मात्रै हैन केपी ओली अराजकताको साम्राज्य चलाउन देशकै स्वाधीनता र भौगोलिक अखण्डतालाइ खतरामा हाल्न तम्सने आजका शासक भन्दा ज्यादा देशभक्त र सम्मान योग्य हुनुहुन्छ । त्यसो हुँदा आज धेरै पछि वहाँ सार्वजनिक मन्चमा आएर बोल्दै “ म हात उठाउँन्न , म झुक्दिन” भन्दै गर्जन गरेको सुन्दा मैले त्यसलाइ अन्तर पार्टी नेतृत्व हस्तान्तरणको विषयमा नभई लोकप्रियतावादी अराजकता र संवैधानिक सर्वोच्चता सहितको लोकतान्त्रिक व्यवस्थाको लडाईमा संवैधानिक सर्वोच्चता सहितको लोकतन्त्रको पक्षमा दृढ भएर उभिन्छु भनेको अर्थमा बुझेको छु ।
बामाले भएको पार्टीलाइ एमालेको रुपमा फर्काउने क्रममा पार्टी भित्र त विधिसम्मत ढंगले उचित समयमा बिदा लिने कुरा पनि वहाँले बोल्नु भएको अनि आज मात्रै वहाँले विद्या भण्डारी २०३७ साल देखि पार्टी सदस्य रहेको र वहाँको सदस्यताको गन्ती त्यही बेला बाट हुने तथ्य राखेको अनि राष्ट्रपति पदमा रहंदा पार्टी सदस्यता निष्क्रिय पारेर विद्या भण्डारीले निस्पक्षता कायम गरेको तथ्य समेत सुस्पष्ट राख्नुले अव एमाले कता जान्छ भन्ने बुझ्न गाह्रो छैन ।
मैले चिनेको जानेको र अध्यन गरेको आधारमा भन्नु पर्दा वाह्य अराजकतावाद अनि आन्तरिक अवसरवाद संग दृढता साथ लडदै गर्दा नै एमाले पार्टीमा अग्रजलाइ मिलाउन , समकक्षिलाइ सहि रुपमा चलाउन , नयाहरुमा उर्जा जगाउन सक्ने नेतृत्व पंक्तिले पार्टीको कमाण्ड सम्हाल्ने अवस्था निर्माण केपी ओलीको एजेण्डा हो । त्यस हिसाबले हेर्दा म देख्छु अव विद्या भण्डारीको संयोजकत्वमा शंकर पोखरेल , गोकर्ण विष्ट , शेरधन राइ , प्रदिप ज्ञवाली सहित भौगोलिक , धार्मिक , सांस्कृतिक सवै कुरा मिलाएर इमान्दारितामा अब्बल नेताहरुको पंक्तिको हातमा एमाले पुग्नेछ । त्यसैले आज धेरै पछि सार्वजनिक रुपमा बोलेर केपी ओलीले दिनु भएको संकेत भनेको ‘ विद्या भण्डारीको नेतृत्व अव एमालेको भविष्य’ नै हो ।
त्यसो हुँदा अव आफुलाइ एमाले हुँ भन्नेहरुले आपसमा को हार्यो वा जित्यो गर्न आवश्यक छैन , श्रद्धय केपी ओलीले भन्नु भए जस्तै कोहि सिकन्दर बन्न जरुरि छैन बरु सबै मिलेर इमान्दारिता , सदाचारिता , स्वच्छता र जनपक्षधरतामा आधारित एमालेको स्थापनाकालीन परिचय फर्काउनु जरुरि देखिन्छ ।
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।
