सम्मानित सर्वोच्च अदालतको वरिष्ठतम न्यायधीश भई कामु प्रधानन्यायधीश भएकै अवस्थामा सरकारले अन्यथा निर्णय लिएर आफुभन्दा कनिष्ठ सहकर्मीलाइ प्रधानन्यायधिश बनाएको अवस्थामा बिदा बस्नु भएकी माननीय न्यायधीश सपना प्रधान मल्लले लिनु भएको बिदा सकिदैछ । बिदा सकिएपछि उहाँ अदालत आउनुनै हुनेछ भन्ने मेरो विश्वास रहेको छ ।
हाल सत्ताधारी दललाइ मत हालेका वा त्यसको लागि मत मागेकाहरु मध्यका केहीले ( सबै हैन है किनकि आमरुपमा नेपालीहरुको चरित्र अन्यायको विपक्ष र न्यायको पक्षमा उभिने नै छ ) उहाँको नाम सुन्ने वित्तिकै गाली गरेन भने बर्बाद नै हुन्छ भन्ठान्नेछन् ।
सत्यको पक्षमा जेसुकै भने पनि, जे लेखे पनि सत्य के हो भने सपना प्रधान अधिवक्ता हुँदा न्याय निम्ति लडेकोको इतिहास हामी सामू छ । कानुनी क्षेत्रको विज्ञताकै जगमा संविधानसभामा रहँदा समग्र नेपाल र नेपालीको हितमा संविधान बनाउन भूमिका खेलेको , महिलालाइ अधिकार सम्पन्न बनाउंदै संविधानमा प्रावधान राख्न आफुलाइ अब्बल सावित गरेको पनि हामीले स्मरण गर्नुपर्छ । संविधानसभामा दल बाधक बनेमा दलीय ह्विप समेत उल्लङ्घन गर्ने दृढता राखेको र शैक्षिक योग्यतामा अब्बलता र कानुनी क्षेत्रको अनुभवमा उत्कृष्टता हासिल गरेको हुँदा न्यायलयमा न्यायधिशको रुपमा नियुक्त भैसकेपछि केवल संविधानको सहि प्रयोग मार्फत जनतालाइ न्याय दिंदै कानुनी राज जोगाउन सदैव भूमिका खेल्ने माननीय न्यायधिश सपना प्रधान मल्ललाई अनेकार्थमा विरोध गर्नु भनेको पूर्वाग्रह मात्र हुनेछ ।
थाहाछैन, उहाँको आगामी योजना के छन ? सदैव निष्ठा र इमानका साथ न्याय सम्पादन गरेको तथ्यलाई हेर्नुपर्छ । अफवाहलाई पत्याउँदै आपूmमाथि गरिएको आलोचना र आफु माथि गरिएको अन्यायलाइ केहि मानिसहरुबाट दिइएको ताली मात्रैको सम्झनाले उहाँलाइ ‘भयो आखिर मैले के को लागि अब न्यायधिश भइराख्ने ?’ अनि ‘जसलाई न्याय दियो त्यसको समेत स्याबास पाउन नसक्ने ? आफु जुन संस्थाको सर्वोच्चताको लागि लड्यो त्यसै भित्रबाट आफ्नो मानमर्दन हुन्छ भने अब कसको लागि काम गर्ने ?’ लगायतका अनेकन सवाल अनि कृतघ्नहरुलाई समेत न्याय दिन गरेको थुप्रै दुःख र पाएको पिडा सम्झेर उहाँले आफ्नो पाइला मोड़ने पो हो कि भन्ने चिन्ता छ ।

निस्वार्थ सेवाको बदला सम्मान नभई अपमान पो पाइयो कि भन्ने लाग्दै गर्दा निरासा र पीडा स्वाभाविक लाग्न सक्छ । त्यसैले म एहाँले ठ्याक्कै के गर्नु होला त्यो त भन्न सक्दिन तर म आशा सहित विश्वास गर्छु कि–सबैको लागि न्यायको सुनिश्चितताको परिकल्पना माथि नै प्रश्न उठेको यो समयमा श्रीमान सपना प्रधान मल्लले न्यायालय छोडनु हुने छैन । उहाँले तत्काल न्यायलय छाडेमा न्यायलयको गरिमा र विश्वासमा समेत आँच आउने आशंका बढ्नेछ । कालन्तरमा न्ययालयले प्रदान गर्ने न्यायसम्पादनमा समेत असर नपर्ला भन्न सकिन्न ।
यद्धपि यति जरुर भन्नु पर्छ कि मेरो त्यो आशा र विश्वासमा कुनै सुचनामा आधारित छैन र हैन । न उहाँ आउँदा मलाइ व्यक्तिगत रुपमा कुनै फाइदा न छोडदा घाटा छ । त्यसो हुँदा म निर्धक्क भन्छु कि उहाँले के गर्नु हुन्छ भन्ने आँकलन गर्दै गर्दा म अरु केही नभई स्वयं सपना श्रीमानको विगत देखि वर्तमान सम्मको यात्राको सम्झी रहेको छु । न्याय नपाएकालाइ न्याय , अधिकारबाट बन्चित गरिएकाहरुलाइ उनीहरुले पाउनु पर्ने अधिकार दिने दिलाउने संकल्प र त्यो संकल्प पूर्तिमा नै उहाँको जीवन वितेको छ । कानुनको विद्यार्थी हुँदा न्यायमूर्ति भएर आजसम्म आइपुग्दा सपना प्रधानले नियोजित अफवाह , अपमान , अनेकन तथ्यहीन आरोप सहनु भएको छ भन्ने जो जतिलाइ थाहा छ तिनीहरुलाइ यो पनि थाहा छ कि सपना प्रधान मल्ललाइ त्यस्ता कुनै कुराले कहिल्यै फरक पारेको छैन ।
जस्तोसुकै कठिन र अप्ठेरो परिस्थितिमा पनि न्यायपूर्ण समाजको सुनिश्चितता प्रतिको उहाँको प्रतिवद्धतामा कुनै कमि आएको छैन । त्यसैले मलाइ विश्वास छ आज पनि उहाँले लिने निर्णय, न्याय पाउनु पर्नेलाइ न्याय दिने आफ्नो संकल्पकै आधारमा हुनेछ । आशा गर्छु कि आफु माथि भएको अन्याय , अत्याचार र अपमानको पिडालाइ भागवान शिव शंकरले कालकुट विष पिएझैं पिएर उहाँ न्यायको दियो जोगाउने दुर्गाको रुपमा अदालतमा आउनु हुनेछ ।
मलाई थाहा छ यसो गर्नु सहज सजिलो छैन , यो व्यक्तिगत सुख सुविधा र आराम उन्मुख पनि पक्कै छैन तर कहिले काहीं आफु डढन तयार भएर पनि आशाको दियो निभ्न दिनु हुदैन भन्ने निष्कर्ष साथ उहाँ अदालतमा आउँदा न्यायको दियो बलिरहने मात्रै हैन न्याय पाउनु पर्नेहरुले न्याय पाइरहने छन । श्रीमान सपना प्रधानले दुनिया देख्नु भएको छ , बुझ्नु भएको छ त्यसैले अक्सर अल्पमतमा पर्दा पनि न्याय समानता र अग्रगमनको पक्षमा राख्दै आउनु भएका अमेरिकाका उदार न्यायाधीशहरुको संघर्ष र त्यसबाट भाग्ने हैन सामना गर्ने वहाँहरुको दृढता पनि उहाँलाइ थाहा छ । त्यसैले अहिलेलाइ यति अनुरोध गरें कि श्रीमान तपाईंले फेरी एक पटक न्यायका लागि लडने बाटो रोज्नुस ।
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।
