काठमाडौं, २२ जेठ । बढुवा भएको सातदिनपछि सशस्त्र प्रहरीका डिआइजीहरुको पदस्थापना भएको छ । बढुवा भएका डिआइजीहरुको पदस्थापनासँग अवधि पुगेका डिआइजीहरुको सरुवा पनि भएको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ७ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा र ७ जनाको पदस्थापन गरेको छ। सशस्त्र प्रहरी बलले प्रवक्तामा नेत्रबहादुर कार्कीलाई ल्याएको छ ।
जसअनुसार, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा विष्णुप्रसाद भट्ट, नम्बर ५ विन्ध्यवासिनी मुख्यालय रुपन्देहीमा दीपक अधिकारी, नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कृष्णराज पाठकलाई सरुवा गरिएको छ।
यसैगरी, दीपेन्द्र शाहलाई इन्टेलिजेन्स ब्युरो, कृष्ण ढकाललाई कार्य विभाग, दीपेन्द्र कुँवरलाई मानवस्रोत विभाग र सुरेशकुमार श्रेष्ठलाई सीमा सुरक्षा विभाग सरुवा गरिएको छ।
त्यस्तै हालै बढुवा भएका नयाँ डीआईजीहरुको पनि पदस्थापना गरिएको छ। पदस्थापना हुनेहरुमा गत वैशाख १२ गते बढुवा सिफारिस भएका दिग्विजय सुवेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की रहेका छन्। उनीहरूमध्ये दिगविजय सुवेदीलाई नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा पदस्थापना गरिएको छ। उनी सोही बाहिनीको निमित्त बाहिनीपति थिए।
यसैगरी, किरण बस्नेतलाई नम्बर ३ गढिमाई बाहिनी मकवानपुर, माधवप्रसाद पौडेललाई नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं, प्रविण कँडेललाई नम्बर ४ मुक्तिनाथ बहिनी मुख्यालय कास्की, राजेश उप्रेतीलाई एपीएफ कमान्ड तथा स्टाफ कलेज, नेत्रबहादुर कार्कीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापना गरिएको छ। यस्तै, राजेन्द्र खड्कालाई मानवस्रोत विभागमा पदस्थापना गरिएको छ।
पदस्थापना हुने डीआईजीहरुले वैशाख २२ गतेको निर्णयअनुसार वैशाख २८ गते दज्र्यानी चिन्ह प्राप्त गरेका थिए।
