हो तपाईंहरु वरिपरी रहेर भ्रष्टचारको साम्राज्य चलाउनेहरुको कर्तुत र हर्कत माथि यहाँहरुले नियन्त्रण नगर्दा जनताको विश्वास ढलेको अनि भएको भन्दा ज्यादा नकारात्मकता देखाउने अल्गोरिदम अफवाहहरुको व्यापार राम्रो चलेको अवस्थामा भएको चुनावमा जनमत तपाईंहरुले पाउने जति पनि नपाएको पक्कै हो । तपाईंहरु बिग्रिएको पक्कै हो , जनता भन्दा कार्यकर्ता , त्यसमा पनि हुने खाने प्राथमिकतामा परेको अनि तपाईंहरुले पत्याएकाहरुले गर्न हुने नहुने सबै गरेकोले जनताले सवक सिकाएकै हुन ।
तपाईंहरु ढलेको पक्कै हो तर सक्किएको हैन । आफुलाइ सच्याउँदै सुधार्दै अगाडी बढदा अझै उठने सम्भावना छ तर एक निर्वाचनको पराजय पछि तपाईंहरु जुन हिसाबले कतिपय ठाउँमा लत्रिएर विजितहरुका अनुचित , अव्यवाहारिक , अमर्यादित हर्कत स्वीकार्दै हिडनु भएको छ त्यसले चाहिं ढलेको पार्टी उठाउने हिम्मत र आँट बोकेका तमाम नेता कार्यकर्ता देखि समर्थक शुभेच्छुकहरुलाइ लज्जित , दुखित चिन्तित बनाएको छ । नबनाओस पनि किन , जव तपाईंहरु ;
१. लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको सँशोधन गर्न प्रधानमन्त्रीको जावो सल्लाहकारको नेतृत्वमा गठित असंवैधानिक आयोगमा समेत लुत्रुक्क पुग्नु हुन्छ जव कि तपाईंहरुलाइ यो पनि थाहा छ कि ति सल्लाहकारले राजा आऊ देश बचाउ भनेर सार्वजनिक रुपमा भनेको छन र त्यसप्रति उनि दृढ छैनन भन्ने प्रमाण छैन
२. देशको प्रधानमन्त्री आफ्नो देशले अर्काको देशको सिमा धेरै ठाउँमा मिचेको भन्दै तथ्यहीन अभिव्यक्ति संसदमा दिन्छ तपाईंहरु देशको अखण्डता विरोधी प्रधानमन्त्रीको राजिनामा माग्न हैन जावो माफीको माग राख्नु हुन्छ
३. सत्तारुढ दलको सभापति भारतको भ्रमणमा जान्छन , आफ्नो अनेकन स्वार्थ पुरा गर्ने बाटो बनाउँछन वा के गर्छन त्यो केहि थाहा हुदैन । त्यसरी छिमेकी संग कुराकानी गर्न जाँदा उनले सर्वदलीय छलफल त के कोहि कसैलाइ सामान्य जानकारी समेत दिंदैनन तर जव उनि त्यता काम फत्ते गरेर यता फर्केर आफ्नो महत्व देखाउन बेतुके सर्वदलीय वैठक गर्दै संसदमा भैरहको अवरोधको बारेमा छलफल गरि टोपल्न खोज्छन त्यहाँ तपाईंहरु सबै लाइन लागेर पुग्नु हुन्छ ।
४. सरकारको सचिवले प्रधानमन्त्रीलाइ मेसेज गरेकै भरमा थुनिनु पर्छ , त्यस ज्यादती प्रति क्षमा माग्ने नभई प्रधानमन्त्री र मन्त्रीहरु मजाक गर्दै बस्छन तर तपाईंहरु यो त अति भयो भनेर चुँ गर्न सक्नु हुन्न ।
५. सत्तारुढ दलका सांसद एवं पुर्व गृह मन्त्री हिरासतमा रहेका कैदी थर्काउने काम गर्छन तपाईंहरु त्यसमा केहि बोल्नु हुन्न । अर्थ मन्त्रालय संसदमा वाचन गरेको वजेटमा छेडखानी गर्दै परिवर्तन गर्छ तर अर्थमन्त्रीको राजिनामा माग्ने हिम्मत तपाईंहरु गर्नु हुन्न ।
माफ गर्नुस महासयहरु , तपाईंहरुले गुमाउनु पर्ने गुमाइसक्नु भयो , भोग्नु पर्ने जति भोग्नु भयो केहि बाँकी रहेछ भने पनि तपाईंहरुको नम्रताकै भरमा हालका सत्ताधारीले तपाईंहरुलाइ छोडने छैनन । हेक्का होस यिनीहरु आफु नायक भएकोले हैन तपाईंहरुलाइ खलनायक करार गर्न सक्ने गीत गाउने गायक भएर सत्तामा आएका हुन । तसर्थ आफ्नो सामथ्र्य भन्दा तल झरेर लुरे , लुते बन्ने काम नगर्नुस ।
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।
