काठमाडौ ३१ जेठ।
नेकपा एमाले केन्द्रीय सचिवालयको गत जेठ ४, ८ ,९ र १० गते बसेको बैठकले उपाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा गठन गरेको संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सम्पन्न भएको छ। बैठक कार्यदलका संयोजक कमरेड विष्णु प्रसाद पौडेलको अध्यक्षतामा बसेको थियो।
कार्यदलमा कमरेड रघु जि पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुली कुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, पासाङ शेर्पा, अमर थापा र राजेन्द्र घिमिरे सदस्य रहेका छन् ।
आज बसेको कार्यदलको बैठकले देहाय बमोजिम को निर्णय गरेको छ :
- सङ्घीय लोकतान्त्रिक गणतन्त्र र बिद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई सुदृढ गर्न र थप प्रभावकारी बनाउन राजनीतिक र सामाजिक जीवनका विभिन्न क्षेत्रहरूबाट सुझाव संकलन गरी संविधान संशोधन सम्बन्धी प्रस्ताव तयार गर्ने ।
- संविधान कार्यान्वयनको हालसम्मको अनुभवका आधारमा संविधानका सबल तथा कमजोर पक्ष र कार्यान्वयनका क्रममा देखिएका जटिलता सहितको पुनरावलोकन सम्बन्धी प्रस्ताव तयार गर्न र संविधान संशोधन सम्बन्धी सुझाव संकलनका लागी बिस्तृत कार्यतालिका निर्माण गर्न अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। उक्त उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहनुभएको छ। उप समितिले सुझाव सन्कलन लगायतको कार्ययोजना र कार्यतालिका आगामी बैठक प्रस्तुत गर्ने ।
- अन्य राजनीतिक दलहरू र दलहरुले गठन गरेका संविधान संशोधन सम्बन्धी कार्यदलहरूसँग संवाद, छलफल तथा अन्तरक्रिया गर्न पहल गर्ने ।
- संविधान संशोधन सुझाव कार्यदलको सदस्य सचिवको जिम्मेवारी महेशकुमार बर्तौलालाई प्रदान गर्ने । महेशकुमार बर्तौला,
सचिब, संविधान संशोधन सुझाव कार्यदल
मिति:- २०८३/०२/३१
