काठमाडौं, ४ असार ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीले नवनिर्वाचित कार्यसमितिलाई एकढिक्का बनाएर अघि बढाउने र व्यबसायिक हकहितका पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचित नयाँ कार्यसमितिको नेतृत्वका रुपमा अध्यक्ष पदको पदबहाली गर्दै डाँगीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । निवर्तमान अध्यक्ष गणेश कार्कीले नवनियुक्त अध्यक्ष डाँगीलाई वुधबार कार्यालयमा स्वागत गर्दै पदबहाली गराए ।
पदभार सम्हालेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष डाँगीले अधिवेशनको समयमा व्यक्तिगत रुपमा फरक कित्तामा देखिए पनि साधारणसभाबाट सर्वसम्मत नेतृत्व चयन भएपछि समग्र ऊर्जा क्षेत्र एक ढिक्का भएर अघि बढिरहेको बताए ।
‘चुनावको बेला जे भयो, सकियो । अब हामी एक ढिक्का भएर काम गर्नेछौ । सबै जना एक ठाउँमा हुनु अवसर र चुनौती दुवै हो । कार्यसमितिमा आउनुभएका सबै साथीहरुलाई पूर्ण अधिकार सहित विभिन्न जिम्मेवारी दिएर कार्यविभाजन गरेर काम गर्नेछौं,’ अध्यक्ष डाँगीले भने ।
निवर्तमान अध्यक्ष गणेश कार्कीले इप्पानमा आवद्ध भइसकेपछि जुनसुकै पदमा बसेको भएपनि बोल्दा सधैं ध्यानदिनुपर्ने बताए ।
‘कार्यसमितिको सदस्यले बोल्दा पनि अध्यक्षले जिम्मा लिनुपर्छ । त्यसैले बाहिर बोल्दा सल्लाह गरेर मात्रै बोल्नुपर्छ । कुनै कुराको पूर्णजानकारी छैन भने यसवारेमा पछि कुरा गरौंला भनेर भन्नसक्नुपर्छ,’ कार्कीले भने, ‘बोलिमा सजगता अपनाउन सकिएन भने १५ खर्ब रुपैयाँ लगानी भएको सिंगो क्षेत्रले नै त्यसको मूल्य चुकाउनुपर्छ ।’
नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनले हिजो र आज बस्ने आसन परिवर्तन भएपनि ऊर्जा क्षेत्रका मुद्दाहरुमा हिजोकै जसरी सँगै हुने बताए ।
७०० ऊर्जा उत्पादक कम्पनीहरु सदस्य रहेको इप्पानको नयाँ नेतृत्व गत जेठ २९ गते चयन भएको थियो ।
