काठमाडौं, ४ असार ।
परराष्ट्रमन्त्री शिशिर खनालले चीन–नेपालबीच आठभन्दा बढि क्षेत्रमा दुई देशबीच सहकार्य बिस्तार गर्ने समझदारी भएको बताएका छन् ।
चारदिने औपचारिक चीन भ्रमण पूरा गरी बुधबार राती स्वदेश फर्किएपछि विज्ञप्ति जारी गर्दै उनले त्यस्तो बताएका हुन् ।
काठमाडौं फर्किएपछि विज्ञप्ति जारी गर्दै उनले भ्रमण उपलब्धिमूलक र सम्बन्ध सुदृढ गर्ने दिशामा महत्वपूर्ण भएको बताएका छन् । चीन भ्रमणमा उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटर्वार्ता गरेका थिए । त्यसक्रममा पूर्वाधार विकास, कनेक्टिभिटी, ऊर्जा, व्यापार, लगानी, कृषि, सूचना प्रविधि, पर्यटन लगायतका आठ भन्दा बढि क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सहमति भएको उनले विज्ञप्तिमार्फत जनाएका छन् ।
आईतबार बेइजिङ पुगेका खनाल वुधबार राती फर्किएका थिए । विदेशमन्त्री यीसँग नेपाल–चीन सम्बन्धका सुरक्षा, सीमा, आर्थिक विकास, साझेदारी लगायत सबै बिषयमा छलफल भएको उनले बताएका छन् ।
चिनियाँ पक्षसँगको वार्तामा नेपाल सरकारको ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता दोहो¥याइएको जानकारी दिँदै उनले भनेका छन्,‘नेपालको भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिइने हाम्रो स्पष्ट अडान छ। ’
चिनियाँ पक्षले पनि नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति आफ्नो समर्थन दोहो¥याएको उनले बताएका छन् । ‘नेपालले निर्धारण गरेका सुशासन र आर्थिक विकासका प्राथमिकतामा चीनको पूर्ण समर्थन रहने विश्वास व्यक्त भएकोछ’ परराष्ट्रमन्त्री खनालले भने ।
