काठमाडौं, ४ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ७–९ असारसम्म चितवनमा हुने महाधिवेशनमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई विशिष्ट अतिथि वक्ता बनाइएको छ ।
रास्वपाले ओलीलाई वक्ता बनाएर विशिष्ट अतिथिको रुपमा निमन्त्रणा गरेको हो । तर, सरकारसँग दूरी बढिरहेका बेला सत्तारुढ दल रास्वपाको महाधिवेशनमा निवतर्मान प्रधानमन्त्रीसमेत रहेका ओली सहभागी हुन्छन् कि हुँदैनन् ? टुंगो लागेको छैन ।
महामन्त्री कबिन्द्र बुर्लाकोटीले उद्घाटन सत्रमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसहित विभिन्न दलका नेताले शुभकामना मन्तव्य दिने कार्यक्रम बनाइएको जानकारी दिए । एमाले स्रोतले भने सरकारले गरिरहेको पूर्वाग्रही व्यबहार, शान्ति–सुरक्षा र स्वास्थ्य अबस्थालाई ध्यान दिँदै ओलीले सहभागी जनाउने सम्भावना अत्यन्त न्यून छ ।
रास्वपाले शुभकामना मन्तव्यका लागि कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ), जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जनमत अध्यक्ष सिके राउत र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई विशिष्ट अतिथिका रूपमा शुभकामना मन्तव्य दिन आमन्त्रण गरेको छ ।
‘सबैलाई निम्तो पठाइसकेका छौं, केहीको कन्फर्मेसन आइसकेको छ, अरुको पनि आउने क्रममा छ ’ बुर्लाकोटीले भने । ओली आउने कि नआउने विषयमा उनले केही पनि बताएनन् । महाधिवेशन प्रतिनिधिलाई ७ असार १ बजेसम्म उद्घाटन सत्रमा सहभागी भइसक्न अनुरोध गरिएको छ ।
महामन्त्री बुर्लाकोटीले पहिलो दिनको उद्घाटन सत्रको गृहकार्य भइरहेको जानकारी दिए । अहिलेसम्म बनेको कार्यतालिकाअनुसार महाधिवेशनको उद्घाटन भरतपुर महानगरपालिका– १० स्थित गेस्टहाउस चौरमा ७ असार दिउँसो १ बजे हुनेछ ।
उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नेछन् ।
