चितवन, १२ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो चरणको निर्वाचनअन्तर्गत पदाधिकारीको चुनाव हुने निश्चित भएको छ । विहिबार सभापति रवी लामिछानेले रातभरी ८ घण्टा गरेको सहमतिको प्रयास असफल भएपछि चुनाव हुने निश्चित भएको हो ।
चुनावका लागि उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । ५ पदको चुनावी प्रतिस्पर्धाका लागि २८ जना प्रतिस्पर्धाको दौडमा देखिएका छन् ।
निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको सूची अनुसार उपसभापति खुल्लामा डा. स्वर्णिम वाग्लेको एकल उम्मेदवारी परेको छ । महिला उपसभापतिमा २ जना डा. तोषिमा कार्की र सोबिता गौतम मैदानमा छन् । मन्त्रीसमेत रहेकी गाँैतममाथि लामिछानेको समर्थन रहेको आशंकामा थुप्रै प्रतिनिधि असन्तुष्ट बनेको बताइएको छ । कार्कीको नाम भने प्रधानमन्त्री बालेन समूहबाट रहेको चर्चा छ ।
सबैभन्दा धेरै महामन्त्रीमा १० जनाले मनोनयन दर्ता गराएका छन् । सहमहामन्त्री पुरुषमा ११ र सहमहामन्त्री महिलामा ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
महामन्त्रीमा निवतर्मान महामन्त्री कबिन्द्र बुर्लाकोटीसहित चर्चित पूर्वपत्रकार प्रमोद न्यौपाने, प्रवक्ता मनिष झालगायत प्रतिस्पर्धामा छन् । निवतर्मान महामन्त्री भएकले बुर्लाकोटी वलियो दाबेदार छन् ।
न्यौपानेलाई समानुपातिक सांसद नबनाइएको, क्षमता हुँदाहुँदै पछि पारिए पनि लामिछानेलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेकोमा प्रतिनिधिहरुले उनीप्रति धेरै सहानुभति जनाइरहेका छन् ।
झालाई भने बौद्धिक व्यक्तिका रुपमा सिंगै मधेस प्रदेशको प्रतिनिधित्वका रुपमा पनि हेरिएको छ ।
