काठमाडौँ, १३ असार।
नेपालमा लगानी, व्यापार र पर्यटन विस्तारका अवसर तथा नेपाल–चीन आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा चीनको सिचाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा छलफल भएको छ । त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासले हालै आयोजना गरेको कार्यक्रममा चीनको सिचाङ स्वायत्त क्षेत्रीय जन सरकारका कार्यकारी उपाध्यक्ष चाओ पेङ, सिचाङ सरकारका विभिन्न निकायका उच्च अधिकारी, नेपालमा लगानी गरिरहेका तथा लगानी गर्न इच्छुक चिनियाँ लगानीकर्ता, नेपालसँग व्यापारमा संलग्न चिनियाँ व्यवसायी, ल्हासास्थित नेपाली व्यवसायी, पर्यटन व्यवसायी तथा अन्य सरोकारवालासहित ११३ जनाको सहभागिता रहेको थियो । महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा वाणिज्यदूत सविन भट्टराईले नेपालको व्यापार, पर्यटन र लगानीका सम्भावनाबारे जानकारी दिएका थिए । कार्यक्रममा नेपालका लगानी, व्यापार र पर्यटनका अवसरसम्बन्धी विस्तृत विवरण समावेश गरी तयार पारिएको ‘भिडियो’ देखाइएको थियो ।
