काठमाडौँ, १३ असार ।
नेपाली साहित्यका डेढ दर्जन स्रष्टाहरूका आफ्नै स्वरमा वाचन गरिएका रचनाका अंशहरू अब विश्वकै सबैभन्दा ठूलो पुस्तकालय, अमेरिकाको राजधानी वासिङ्टन डी.सी.स्थित लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखको हिस्सा बनेका छन् ।
दक्षिण एसियाली साहित्यिक ध्वनि अभिलेख परियोजना (South Asian Literary Recordings Project-SALRP, एसएएलआरपी) अन्तर्गत नेपाली, नेपालभाषा र मैथिली भाषाका यी ध्वनि सामग्रीहरू हालै नयाँ डिजिटल स्वरूपमा सार्वजनिक गरिएका हुन् ।
एक वर्ष लामो पुनर्संरचना तथा अनलाइन प्रस्तुतीकरण परियोजनापछि यी अभिलेखहरू विश्वभरका पाठक, अध्येता र अनुसन्धानकर्ताहरूका लागि सहज पहुँचमा ल्याइएको लाइब्रेरी अफ कङ्ग्रेसले सूचना सार्वजनिक गरी जनाएको छ । यससँगै नेपाली भाषिक संसारका स्रष्टाहरूका स्वर अन्तर्राष्ट्रिय साहित्यिक सम्पदाको साझा स्मृतिभित्र सुरक्षित भएका छन् ।
यसअघि सन् २००४ मा लाइब्रेरी अफ कङ्ग्रेसले माधव घिमिरे, मोहन कोइराला, मदनमणि दीक्षित, ध्रुवचन्द्र गौतम, बानीरा गिरि, भुवन ढुङ्गाना र दिनेश अधिकारीका आफ्नै स्वरमा वाचन गरिएका रचनाहरू सङ्कलन गरेको थियो । अहिले सम्पन्न परियोजनाले त्यस परम्परालाई विस्तार गर्दै नयाँ पुस्ता र समकालीन स्रष्टाहरूका स्वरलाई पनि विश्व साहित्यिक अभिलेखमा स्थान दिएको छ ।
नयाँ सङ्ग्रहमा अभि सुवेदी, अशेष मल्ल, कालीप्रसाद रिजाल, कृसु क्षेत्री, धीरेन्द्र प्रेमर्षि, नारायण ढकाल, प्रतिसरा सायमी, भुवनहरि सिग्देल, मनु मञ्जिल, माया ठकुरी, मोमिला, राजेन्द्र विमल, शारदा शर्मा, श्रवण मुकारुङ, सरुभक्त, र ज्ञानुवाकर पौडेल लगायतका साहित्यकारहरूका आफ्नै स्वरमा वाचन गरिएका रचनाका अंशहरू समावेश छन् । यी अभिलेखहरूले केवल सिर्जनालाई मात्र नभई, स्रष्टाको उच्चारण, लय, भावप्रवाह र भाषिक संस्कृतिलाई समेत भावी पुस्ताका लागि सुरक्षित गरेको साहित्यकार कृसु क्षेत्रीले बताए।
बङ्गलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलङ्काका २० भाषामा सिर्जना गर्ने एक सयभन्दा बढी प्रतिष्ठित लेखकहरूको सहभागिता रहेको एसएएलआरपी दक्षिण एसियाली साहित्यिक ध्वनि सम्पदाको एक विशिष्ट र महत्त्वपूर्ण परियोजना हो । उपन्यास, कथा, नाटक, कविता र निबन्धजस्ता विविध विधालाई समेट्ने यस सङ्ग्रहले क्षेत्र, भाषा, शैली र विषयवस्तुको बहुलतालाई एकै थलोमा अभिलेखित गरेको छ ।
सन् २००२ मा प्रारम्भ गरिएको एसएएलआरपी वेबसाइटमा ध्वनि अभिलेखसँगै लेखकहरूका तस्बिर र संक्षिप्त जीवनीहरू पनि उपलब्ध छन् । यी सामग्रीहरू साउथ एसियन डिजिटल कलेक्सन (South Asian Digital Collection) मार्फत विश्वव्यापी अध्ययन र अनुसन्धानका लागि खुला गरिएका छन् ।
यस नयाँ अनलाइन प्रस्तुतीकरणले नेपाली, नेपालभाषा र मैथिली साहित्यका सशक्त स्वरहरूलाई अन्तर्राष्ट्रिय साहित्यिक समुदायसँग जोड्ने महत्त्वपूर्ण सेतु निर्माण गरेको साहित्यकार क्षेत्रीले बताउनुभयो । यस अर्थमा एसएएलआरपी केवल ध्वनि अभिलेखहरूको सङ्ग्रह मात्र नभई बीसौँ र एक्काइसौँ शताब्दीको दक्षिण एसियाली साहित्यिक चेतना, सांस्कृतिक स्मृति र सिर्जनात्मक उत्तराधिकारको एक अनुपम दस्तावेजका रूपमा स्थापित भएको छ ।रासस
