सुर्खेत, २० असार । कर्णाली राजमार्गअन्तर्गत दैलेखको साङगेतडामा कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बलले अत्याधुनिक उपकरणसहितको गोताखोर टोली परिचालन गरेको छ।
असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङगेतडाबाट दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो ।
दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले दुई दिनसम्म खोजी गरे पनि बेपत्ता गाडी र यात्रु फेला पार्न नसकेपछि विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट अत्याधुनिक उपकरणसहितको गोताखोर टोली परिचालन गरिएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा पाँच सदस्यीय गोताखोर टोली घटनास्थलमा खटिएको छ।
उहाँका अनुसार टोलीले पानीमुनिको खोजीका लागि सोनार क्यामेरा, म्याग्नेट (चुम्बक) लगायतका उपकरण प्रयोग गरिरहेको छ। घटनास्थल आसपासका दुर्गम क्षेत्रमा हेलिकोप्टर र ड्रोन क्यामेरामार्फत पनि खोजी भइरहेको छ। सशस्त्र प्रहरी बल नम्बर ६ महेश्वरी वाहिनी मुख्यालयको थप छ सदस्यीय गोताखोर टोली पनि घटनास्थलमै परिचालित छ।
प्रहरीका अनुसार नदीको बढ्दो जलसतह, तीव्र बहाव, धमिलो पानी र भौगोलिक जटिलताका कारण खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
दुर्घटनामा परी पचालझरना गाउँपालिका–९, कालीकोटका ५४ वर्षीय जेखे तिरुवाको मृत्यु भएको छ। पचालझरनाकै मेखे तिरुवा, रास्कोट नगरपालिका–२ का सिर्जना खड्का, पञ्चपुरी नगरपालिका–८, सुर्खेतका चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदीसहित फोर्स गाडी अझै बेपत्ता छन्।
बेपत्ता यात्रुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी करिब एक सय जना सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।
