काठमाडौं, २१ असार । फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा पाराग्वेलाई पराजित गर्दै फ्रान्स क्वार्टरफाइनल अर्थात अन्तिम ८ मा प्रवेश गरेको छ।
अमेरिकाको फिलाडेल्फिया स्टेडियममा सम्पन्न खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले गरेको १ गोल नै जितका लागि निर्णायक बन्यो।
एम्बाप्पेले खेलको ७०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई जित दिलाएका हुन्।
पाराग्वेली खेलाडी डिएगो गोमेजले डेसियर डोएलाई लडाएपछि ‘भार’ को मद्दतले पेनाल्टीको निर्णय दिइएको थियो।
दोस्रो हाफको अन्त्यतिर भने एमबापे थप गोल गर्नबाट चुके। उनले गरेका दुई प्रहारलाई पाराग्वेली गोलरक्षक ओरलान्डो गिलले उत्कृष्ट बचाउ गरेर फ्रान्सलाई थप गोल गर्नबाट रोके।
फ्रान्स विश्वकपको क्वाटरफाइनल पुगेको यो लगातार चौथो पल्ट हो। सन् २०२२ को विश्वकपको सेमिफाइनलमा पनि फ्रान्स र मोरक्कोले प्रतिष्पर्धा गरेका थिए। उक्त खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा पुगेको थियो।
जारी विश्वकपमा एम्बाप्पेको यो सातौँ गोल हो। जारी विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा एम्बाप्पेसँगै अर्जेन्टिनी कप्तान लियोनल मेसी पनि शीर्ष स्थानमा छन्। उनीहरु दुवैले अहिलेसम्म ७ ७ गोल गरेका छन्।
अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सले मोरक्कोसँग खेल्नुपर्ने छ।
गएराति भएको खेलमा राउन्ड अफ १६ को खेलमा मोरक्को क्यानडालाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ।
