काठमाडौं,२२ असार ।
नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण, अद्यावधिक तथा नयाँ सदस्यता वितरणको समयावधि २०८३ साउन ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ।
पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आइतबार ललितपुरस्थित बी.पी. स्मृति भवनमा बसेको बैठकले वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यता सम्बन्धी प्रक्रिया पूरा हुन नसकेको तथा नयाँ क्रियाशील सदस्यता विस्तारका लागि थप समय आवश्यक रहेको निष्कर्ष निकाल्दै म्याद थप्ने निर्णय गरेको हो।
यसअघि क्रियाशील सदस्यताको फाराम वितरण तथा अनलाइन प्रणालीमा नयाँ सदस्यहरूको विवरण प्रविष्ट गर्ने अन्तिम मिति असार २० गतेसम्म तोकिएको थियो। तर, जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूको सुझावका आधारमा उक्त अवधि साउन ३ गतेसम्म लम्ब्याइएको पार्टीले जनाएको छ।
बैठकले क्रियाशील सदस्यता अद्यावधिक र वितरणका क्रममा कुनै समस्या वा गुनासो आएमा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिसमक्ष सिफारिस गर्न सक्ने व्यवस्था पनि गरेको छ। प्राप्त सिफारिसका आधारमा समितिले आवश्यक निर्णय गरी सदस्यता अद्यावधिकको व्यवस्था मिलाउने जनाइएको छ।
उक्त निर्णयको जानकारी नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्तिमार्फत दिएका हुन्।
