काठमाडौं, २१ असार । सरकारले एक चीन नीतिलाई खुला चुनौति दिदै तिब्बती निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन दिने निर्णय गरेको छ । लामाको जन्मदिन मनाउन भारतको धर्मशाला र काठमाडौंमा तयारी थालिएको बेला जिल्ला सुरक्षा समितिले नेपालमा पनि जन्मदिन मनाउन अनुमति दिएको हो । काठमाडौका प्रमुख जिल्ला अधिकारी इश्वर पौडेलको नेतृत्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्वयम्भूस्थित नामग्याल स्कूलमा असार २२ गते बिहानका लागि औपचारिक कार्यक्रम गर्न अनुमति दिएको हो ।
कार्यक्रममा पहिले झैँ काठमाडौंस्थित युरोप,अमेरिकालगायत विभिन्न देशका राजदूत,चार्ज डे अफेयर्स एवम् कूटनीतिक निकायका करिव ३० जना प्रतिनिधिलाई निम्त्याइएको बुझिएको छ । जन्मदिन मनाउने कार्यक्रमका लागि प्रहरीले पहिले जिल्ला प्रशासनको अनुमति लिनुपर्ने सन्देश आयोजकलाई दिएको थियो ।
दलाई लामाको जन्मोत्सव मनाउन जिल्ला सुरक्षा समितिको बैठकबाटै निर्णय गरिएको सम्भवतः यो पहिलो पटक हो । शुरुमा सिडिओ कार्यालय,बबरमहलबाट अनुमति आवश्यक नरहेको जानकारी आयोजकलाई दिइए पनि प्रहरीले अनुमति नमागी नहुने अडान राखेपछि आज आइतबार बिदाको दिन पनि दिउँसो जिल्ला सुरक्षा समितिको बैठक डाकिएको थियो । सोहीबमोजिम आजको बैठकले जन्मोत्सव कार्यक्रम मनाउन दिने निर्णय गरेको छ । दलाई लामाको जन्मोत्सव मनाउन जिल्ला सुरक्षा समितिको बैठकबाटै निर्णय गरिएको सम्भवतः यो पहिलो पटक भएकाले यसलाई भूराजनीतिसँग जोडेर हेरिएको छ ।
