काठमाडौं, ८ साउन । पढ्दा र सुन्दा अचम्म लाग्छ । कतिपयलाई पत्यार पनि नलाग्नसक्छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई थुन्न उद्यत रहेका कुमार बेन र ओलीकै स्वकीय सचिवालयमा कार्यरत राजेश बज्रचार्यबीच कही न कही संवाद भयो, भेटघाट भन्दा जो कोहीलाई अचम्म लाग्छ । धेरैलाई पत्यार पनि लाग्दैन । किनभने यी दुइ जना एक नदीका दुइ किनाराजस्तै हुन । तर राजनीति गर्ने र सत्ता केन्द्रको अभ्यास गर्नेहरुबीच असम्भव देखिएका विषयहरु पनि कहिलेकाही संभव भैदिन्छन । हो यस्तै असंभवजस्तो लाग्ने भेटघाट प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेन र बज्रचार्यबीच भएको छ ।
प्रधानमन्त्रीका एक सल्लाहकारका अनुसार त्यो भेटघाट ललितपुरको एक घरमा भएको थियो । ‘भेटघाट भएको सत्य हो, दुई साताअघि विहिबारको दिन भेटघाट भएको हो, साउन नलाग्दै बेनले बोलाएर बज्रचार्यले भेटेका थिए’, प्रधानमन्त्रीका ती सल्लाहकारले भने । उनीहरुबीच पुरानै चिनजान रहेको बताइन्छ । दुवै एउटै समूदाय भएका कारण भेटघाट र कुराकानीका लागि सहज भएको पनि स्रोतको दावी छ । ‘तिक्तता ठूलै होला तर उनीहरुबीच भेटघाट गराउने र कुराकानी गर्ने वातावरण उनीहरुको समूदायले गरेको हो, यसमा के के कुराकानी भयो भन्ने जानकारी छैन’, स्रोतले भन्यो ।
शुक्रबारात्रै जिल्ला प्रहरी परिसर, काठमाडौंले पूर्वप्रधानमन्त्री केपी ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान जारी रहेको जनाएको थियो । हाजिरी जमानीमा छुटेका उनीहरूको हकमा प्रमाण संकलनको काम भइरहेको प्रहरीको भनाइ थियो । यस्तो बेलामा उनीहरुबीच भेटघाट भएको खबर बाहिर आएको हो ।
प्रहरीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ओली–लेखकको मुद्दामा लासजाँच मुचुल्का तथा शव परीक्षणलगायतका सम्बन्धित कागजातको अध्ययन, सिसिटिभी फुटेज संकलन एवं विश्लेषण, प्रत्यक्षदर्शी एवं घटना देख्ने थाहा पाउने व्यक्तिको कागजसमेतका अनुसन्धान भइरहेको जानकारी दिएको थियो । जेन–जी आन्दोलनमा दमन गरेको घटनामा जाँचबुझ आयोगको प्रतिवेदनअनुसार उनीहरू गत १४ चैतमा पक्राउ परेकोमा अदालतको आदेशमा २६ चैतमा हाजिरी जमानीमा छुटेका थिए ।
