काठमाडौं, २६ साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीय सचिवका रूपमा काम गरेका व्यक्तिहरूको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको बेला केपी शर्मा ओलीका स्वकीय सचिवको उजुरी भने तामेलीमा राखिएको छ ।
आयोगले देउवा प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका भानु देउवा तथा दाहालकी स्वकीय सचिव एवं छोरी गंगा दाहाल र उनका पति जीवन आचार्यको सम्पत्तिको स्रोत छानबिन थालेको बेला ओलीका स्वकीय सचिव राजेश बज्रचार्यमाथिको छानवीन रोकिएको छ । नेपाल चर्चाले साउन ८ गते प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन र ओलीका स्वकीय सचिव बज्रचार्यबीच भेटघाट भएको समाचार प्रकासित गरेको थियो । सोही समाचार प्रकासित भएको केही समयपछि अख्तियारले उनीमाथि छानवीन अघि नबढाउने र फाइल तामेलीमा राख्ने निर्णय गरेको छ । बेन र बज्रचार्यबीच भएको भेटघाटको असर अख्तियारमा परेको हो कि भन्ने शंकाको लाभ बढेको छ ।
अख्तियारनिकट स्रोतका अनुसार भानु देउवाको सम्पत्ति विस्तृत अनुसन्धानका लागि आवश्यक विवरण संकलनको प्रक्रिया अघि बढिसकेको बेला ओलीको सचिवालयमा रहेका बज्रचार्यले किन उन्मुक्ति पाउदैछन् भन्ने प्रश्न उठेको छ।
यसअघि नेपाल चर्चाले उनीहरुबीच ललितपुरको एक घरमा भेटघाट भएको समाचार प्रकासित गरेको थियो । ‘ साउन नलाग्दै बेनले बोलाएर बज्रचार्यले भेटेका थिए’, प्रधानमन्त्रीका ती सल्लाहकारले भने । उनीहरुबीच पुरानै चिनजान रहेको बताइन्छ । दुवै एउटै समूदाय भएका कारण भेटघाट र कुराकानीका लागि सहज भएको पनि स्रोतको दावी छ । ‘तिक्तता ठूलै होला तर उनीहरुबीच भेटघाट गराउने र कुराकानी गर्ने वातावरण उनीहरुको समूदायले गरेको हो, यसमा के के कुराकानी भयो भन्ने जानकारी छैन’, स्रोतले भन्यो ।
आयोगले पूर्व परराष्ट्रमन्त्री आरजु राणाको सहयोगी तथा सुदूरपश्चिम प्रदेशसभाका सदस्य प्रकाश बहादुर देउवामाथि पनि अनुसन्धान गरिरहेको छ । प्रकाश बहादुर देउवा २०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर–५ (२) बाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनी २०७९ माघमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । उनी कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का स्थानीय हुन् । प्रकाश र भानु पूर्व प्रधानमन्त्री शेरबहादुरका भतिजा हुन् ।
तीनैजना माथि अख्तियारले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको अख्तियारका एक जना उच्च अधिकृतले बताए । प्रकाश देउवा सांसद र पूर्वमन्त्री भएर सार्वजनिक पद धारण गरेको हुनाले उनीमाथि अख्तियारले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो । प्रकाश अहिले अमेरिकामा छन् ।
अख्तियारका एक जना उच्च अधिकारी भन्छन्, ‘प्रकाश अमेरिकामा भएको सूचना पाएका छौँ, सम्पत्तिको फारम भराउने र बयाने लिने प्रयास हुँदैछ ।’ भानु र गंगाबारे अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्राचार गरेको अख्तियारका उच्च अधिकृतले जानकारी दिए ।
करिब १ साताअघि सम्पत्ति शुद्धीकरणको पत्र प्राप्त भएसँगै अख्तियारले भानु र गंगाको सम्पत्ति विवरण माग गर्दै विभिन्न निकायमा पत्राचार गरेको छ । अख्तियारका उच्च अधिकृत भन्छन्, ‘पत्राचारको काम भइरहेको छ ।’ सम्पत्ति विवरण सङ्कलन गरेपछि उनीहरूलाई सम्पत्ति सम्बन्धी फारम भराउने र बयान लिने काम हुनेछ । अनुसन्धान अधिकृतहरूले अहिले बैंक खातामार्फत भएको रकमको विवरण र शेयर लगत विवरण सङ्कलन गरिरहेका छन् ।


